हिमाल सफाइका क्रममा ४ जनाको शव भेटियो


 


काठमाडौं । नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले बुधबारसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार बुधबार मात्रै दुईवटा शव निकालेर काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ।

सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मि) र ल्होत्से क्याम्प–४ ईलाका (७९०० मि) मा रहेका दुईवटा शवलाई बुधबार हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको निर्देशनालयले जनाएको छ।

गत चैत २९ गते सुरु भएको अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलोग्राम फोहर, चारवटा मानव शव तथा केही मानव अस्थिपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।

विश्व वातावरण दिवसमा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहर हटाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्