‘कृषि र उद्योगलाई सँगसँगै लैजान आवश्यक’


 



झापा, १८ जेठ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि र उद्योगलाई सँगसँगै विकास गरेर लैजान आवश्यक रहेको बताउनुभएको छ ।

झापाको मेचीनगर–१४ स्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नुहुँदै कृषिमन्त्री साहले कृषि क्षेत्रको विकास लागि उद्योगी व्यवसायीलाई प्रोत्साहन आवश्यक रहेको बताउनुभयो ।

“मावन स्वास्थ्यसँग जोडिएको स्वस्थ्यकर र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “विभिन्न कार्यक्रमको माध्यमबाट कृषिसँग जोडिएका उद्योगलाई प्रोत्साहन गर्नुपर्छ, म मन्त्री भएको हैसियतले बेलाबेलामा छलफल गरिरहेको छु ।” उद्योगीलाई प्रोत्साहन गर्न देशभरि अभियानका रुपमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

खाद्यवस्तुको गुणस्तरको नियमन र सुधारका लागि सदनबाट खाद्य स्वास्थ्य गुणस्तर विधेयकका लागि नियमावली पास भएको बताउँदै त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो । “यसले गुणस्तरहीन वस्तुको नियमन र नियन्त्रण गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “गलत गर्नेलाई कडा कारबाही गर्नुपर्छ ।” निरीक्षणका लागि आउनुभएका मन्त्री साह समक्ष उद्योगी(व्यवसायीले आफ्ना समस्या राखेका थिए । भारत, बङ्गलादेश, थाइल्याण्डलगायतका मुलुकबाट जुसका नाममा ‘फ्लेबर’ भएको पेय पदार्थ आयात हुँदा नेपाली उद्योगी मारमा परेको सिङ्गापुर बेभरेजका प्रबन्ध निर्देशक आशिष शर्माले बताउनुभयो ।

“फ्लेबर मात्र भएको पेयपदार्थ नेपालमा आयात गर्न पाइँदैन”, उहाँले भन्नुभयो, “तर बजारमा छ्याप्छ्याप्ती त्यस्ता पेयपदार्थ पाइन्छ ।” सरकारले त्यस्तो कार्यको नियमन र अनुगमन नगर्दा नेपाली उद्योगी(व्यवसायी मारमा परेको उहाँको भनाइ छ ।सात वर्षअघि स्थापना भएको सिङ्गापुर बेभरेजले ३२ वटाभन्दा बढी प्रकारका पेयपदार्थ उत्पादन गर्दै आएको छ । रु ८० करोड लगानी पुगिसकेको उद्योगमा हाल तीन सय ५० जनाले रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित पेयपदार्थ युरोप, अमेरिकालगायत ३५ वटा मुलुकमा निर्यात हुँदै आएको जनाइएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्