‘म्याडम’ तपाईँको महिनावारी किन हुँदैन ?’


 


काठमाडौं, पुस २७
“महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउनुहुन्न।

विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाईँको महिनावारी कहिले हुन्छ? तपाईँको महिनावारी किन हुँदैन?’ लगायतका अनावश्यक प्रश्न ठड्याइरहन्छन्।

आफू छ दिनसम्म कक्षा कोठामा प्रवेश नगर्ने हो भने विद्यार्थीको पठनपाठन बिग्रन्छ भन्ने थाहा पाएर झुटो बोल्ने गरेको उनले बताइन्। “समाजलाई परिवर्तन गर्न निकै कठिन रहेछ”, जिल्ला शिक्षा कार्यालय अछामले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भावुक मुद्रामा भनिन्, “मैले झुटो बोलिनँ भने विद्यालय परिसरभित्रै प्रवेश गर्न पाउँदिनँ। मेरा लागि होइन, अझैसम्म छाउपडीजस्तो अन्धविश्वास बोकेर हिँडेका तिनै अभिभावकका बालबच्चाको पढाइ नबिग्रियोस् भनेर झुटो बोल्ने गरेकी हुँ।”

अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ भने ग्रामीण क्षेत्रमा यसको उन्मूलन तत्कालका लागि निकै कठिन छ।

पछिल्लो एक महिनाको अवधिमा दुई छात्राले यसै प्रथाका कारण ज्यान गुमाए तर पनि अभिभावक ‘भगवान् रिसाउँछन्’ भन्ने अन्धविश्वासमा यस प्रथाबाट मुक्त हुन सकेका छैनन्।

महिनावारी भएको छैटौँ दिनमा चोखिने र भान्सा तथा मन्दिरमा प्रवेशका लागि नौ दिन नै प्रतीक्षा गर्नुपर्ने चलन कायम छ।

बैठकमा उपस्थित महिला शिक्षकले महिनावारी भएको नवौं दिनमा घाम अस्ताउने बखत स्नान गरेपछिमात्र महिलाले पूर्णरूपमा शुद्धि प्राप्त गर्ने मान्यता रहेको बताए। “वयस्कले सहलान् तर स्कुले छात्राले यस्तो जाडोमा साँझ ४ बजेपछि चिसै पानीले स्नान गरेर चोखिनुपर्दाको पीडा कस्तो होला, सोच्नुस् त !” मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँका मावि शिक्षक धनकला ठकुल्लाले भनिन्।

हुन त केही टोल र गाउँमा सामूहिक छाउगोठ बनाउने चलन चलाइएको पनि छ। एउटा छाप्रोलाई गाउँभरिका महिलाले महिनावारीका बखत प्रयोग गर्ने गरेका छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २७ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्