राजाको खेदो खन्नेले राजाले नै बनाएको देशमा नबसे नि हुन्थ्यो!


 


पृथ्वी जयन्ति मनाउन पृथ्वी जयन्तिको दिन विदा दिनु पर्छ भन्ने विषयमा कुरा उठिरहेका बेला प्रचण्डले आफु एक्लैले निर्णय गर्न नमिल्ने बताएका छन् । तर तीनै प्रचण्डले गत कार्तिक १७ देखिको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको बेला दुई तीन दिन अघि नै सार्वजनिक विदाको घोषण गरिसकेका थिए ।

त्यति मात्रै होइन मुखर्जी भ्रमणको दिन अघोषित रुपमा सेना नै परिचालन गरेर मुखर्जीको सम्मानको नाममा नेपालीलाई दुःख दिएको त्यो दिन कसै कसैलाई त बिर्सन पनि धेरै गाह्रो हुन्छ होला सायद ।

मुखर्जीको नेपाल भ्रमणका क्रममा दिइएको त्यो विदाको सामाजिक सञ्जाललगायत चौतर्फी आलोचना भएपछि प्रचण्डले आफु निर्दोष ठहरिन राष्ट्रपतिले विदाको प्रस्ताव गरेकाले आफुले पनि समर्थन जनाएको भनेर राष्ट्रपतिको टाउकोमा दोष थुपारेका थिए । तर, अहिले आएर राष्ट्रपति विद्या देवी भण्डारीले तीन दिन अघि नै आफु पृथ्वीनारायण शाहको योगदानले गर्दा यो देशको राष्ट्रपति बनेकोले पृथ्वीनारायणको सम्मानस्वरुप पृथ्वीजयन्तिको दिन विदाको प्रस्ताव राख्दा प्रचण्डले तीन दिन पछि मात्रै सुनेका छन् ।

त्यो पनि सबैको छलफलपछि मात्रै निर्णय लिने बताएका छन् । जसको अर्थ प्रचण्डले पृथ्वीनारायण शाहको जन्म जयन्तिमा सम्मान स्वरुप विदा नदिने पक्षमा छन् भन्ने अनुमान सजिलै गर्न सकिन्छ । विदा नदिने मात्रै होइनन् शाहको सम्मान गर्ने पक्षमा नै छैनन् प्रचण्ड भन्ने अर्थ लगाउन सकिन्छ ।
उनको मात्रै होइन, पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोले कि प्रचण्डलाई उकुसमुकुस हुन थाल्छ । गत कार्तिक ४ गते अन्राष्ट्रिय विराट हिन्दु सम्मेलनको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक अस्थिरताले मुलुकको मौलिकता र राष्ट्रियता हराउँदै गएको भनेका थिए । प्रचण्डले त्यसको प्रतिकारस्वरुप ज्ञानेन्द्रले निहुँ खोजे झन दुःख पाउने भनेका थिए ।

प्रचण्ड र उनका पार्टीका केही कार्यकर्ता पूर्वराजा ज्ञानेन्द्रले केही बोले कि ज्ञानेन्द्रको खेदो खन्ने बानी नै परिसकेका छन् । बरु भारतले जे जे भन्छ गरिन्छ तर, राजाले केही बोले कि माटो नै बुकाउने सम्मको लक्षण प्रचण्डको देखिन्छ ।

विराट हिन्दु सम्मेलनका बेला प्रचण्डले मात्रै होइन उर्जा मन्त्रि जनार्दन शर्माले पनि पूर्वराजा ज्ञानेन्द्रले बढी गरे नागार्जुनबाट समेत लखेट्ने धम्की दिएका थिए । उनले त्यति मात्रै होइन्, त्यो भन्दा पहिले पनि उर्जामन्त्री भएपछि भदौको पहिलो साता सरकारको स्वामित्तवमा छ, र यसको रेखदेख सरकारले नै गर्नुपर्छ भन्ने विचार समेत नगरिकन महेन्द्र मञ्जिलको विजुलीको लाइन काटेका थिए । त्यसपछि चौतर्फी विरोध भएपछि फेरि २४ घण्टा नवित्दै विद्युत प्राधिकरणलाई सो मन्जिलको लाइन जोड्न फेरि उनले पत्र पठाएर लाइन जोडाएको थिए । जसले माओवादीको राजाप्रतिको कुदृष्टि छर्लङ्ग हुन्छ ।

मुलुकमा एउटा नागरिक सरह बसेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकार त होला नै । तर, उनले केही केही बोले की आफुलाई कम्युनिष्ट भन्न रुचाउने कसैले त ढुङ्गा माटो नै बुकाउन खोज्छन् ।

मैले राजाको चर्चा गर्नुको अर्थ फेरि पनि मुलुकमा राजसंस्था हुनु पर्छ भन्ने पटक्कै होइन् । फेरि पनि मुलुकमा राजसंस्था आए मुलुक दश वर्ष पछि धकेलिने निश्चित नै हुन्छ । गणतन्त्रमा जसरी गणतन्त्रको जग बसाल्न यत्रो समय खेर गइराखेको आवस्था छ, त्यसरी नै पुनः राजा को जग बसाल्नु पनि त्यति नै समय खेर जाने सम्भावना हुन्छ । र मुलुक त्यति नै पछाडी धकेलिने पनि निश्चित नै हुन्छ । त्यसैले जसरी सकिन्छ अहिलेका नेता भन्नेहरुले नै सुध्रिनु पर्छ भन्ने मेरो मान्यता हो ।

जहाँ सम्म पृथ्वीनारायण शाहको जन्मजयन्तिमा विदा दिने कुरा छ, विदा नै दिइनुपथ्र्यो भन्ने पनि होइन, मुखर्जीको सम्मानमा त्यत्रो सेना परिचालन गर्ने सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तिमा पनि एउटा राष्ट्र निर्माताको नाताले उनको सम्मानस्वरुप कुनै कार्यक्रमहरु त गर्नुपथ्र्यो । उनले गर्दा हामीले रजाँई गर्न पाइराखेका छौं भन्ने अलिकति सोच त हुनुपथ्र्यो ।

जसलाई राजाले देशै बिगारेका हुन्, मान्छेलाई बोल्ने अधिकार नै हुन्नथ्यो भन्ने सोच छ, उनीहरुलाई यत्रो मिलाएर राखेको देश घैंटो फुटाए सरह फुटाउने अधिकार कसले दियो ?? राजा प्रति कुदृष्टि राख्नेले, राजाले केही गरेनन् भन्ने, राजाको नाम सुन्ने वित्तिकै ढुङ्गा माटो नै बुकाउन खोज्नेले त उनले निर्माण गरेको देशमा नबसे नि हुन्थ्यो ।

जसले जे भने पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तिको अवसरमा मेरो शुभकामना तथा श्रद्धासुमन राष्ट्र निर्माता पृथवीनारायण शाहलाई!!!!!

प्रेमबहादुर चन्द

प्रकाशित मिति: २७ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्