चिनियाँ कम्पनीकाे लापरवाहीले नारायणगढ–बुटवल सडककाे अवस्था दयनिय (भिडियाेसहित)


 


काठमाडाैं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवलको दाउन्ने खण्डको सडक मर्मतको काम एक हप्ताभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय, नवलपुरले सरोकारवाला पक्षसँग बिहीबार छलफल गरेपछि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले वर्षाको समयमा हुन सक्ने अवरोधलाई दृष्टिगत गर्दै तीन दिनभित्रमा काम सुरु गरेर एक हप्ताभित्र मर्मतको काम सक्न निर्देशन दिएकी हुन् ।

उनले भनिन्, ‘एक दिन परेको पानीले त अवरोध भएर बाटो अस्तव्यस्त भयो । बर्खामा झन् ठुलो समस्या आउन सक्छ । त्यसैले बर्खामा कुनै अवरोध नहुने गरी एक हप्तामा मर्मतको काम सम्पन्न गर्नूस् । निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले भने बजेटको अभाव देखाउँदै घुमाउरो ढङ्गले काम सुरु गर्न नसक्ने जवाफ दिएको छ । चिनियाँ ठेकेदार प्रमुख योहाङ जेनखुनले भने, हामीसँग भएको बजेट छिट्टै सकिने भएकाले काम गर्न समस्या भइरहेको छ ।’

हस्तक्षेप गर्ने चेतावनी
ठेकेदार कम्पनीको कुरा सुनेपछि सडक आयोजनाले हस्तक्षेप गर्ने चेतावनी दिएको छ । नारायणघाट–बुटवल सडकको पूर्वीखण्डका आयोजना प्रमुख आशिष थापाले मर्मत थाल्न निर्देशन दिँदै भने, ‘मर्मत गर्नुपर्ने अहिले हो । तपाईंहरूले पैसा छैन भनेर यात्रुलाई दुःख दिन पाउनुहुन्न । तपाईंहरू गर्न सक्नुहुन्न भने हामी गर्छौं । तपाईंहरूबाट पछि सोधभर्ना लिन्छौँ ।’ उनले सम्झौता पालना गर्ने नेपाल सरकार र निर्माण कम्पनी दुवैको जिम्मेवारी भएको प्रस्ट पार्दै निर्माण पक्षले दायित्व पूरा नगरे सम्झौता अनुसार प्रक्रिया अगाडि बढ्ने बताए  ।

चिनियाँ पक्षकै दबाब
अन्तिम पटक थपिएको म्याद सकिनैलाग्दा निर्माण कम्पनीले भने म्याद थप्न दबाब बढाएको छ तर यसबारेमा आयोजना प्रमुख थापाले दबाब दिएर नहुने बताउँदै सम्पन्न भएको कामको पैसा दिएर काम अगाडि बढाइने स्पष्ट पारे । उनले भने, ‘काम गरे भुक्तानी हुन्छ नगरे हुन्न । यो पैसा छैन भनेर सधैँभरि सबैले दिने बनिबनाउ जवाफ हो । नगद प्रवाहको समस्या छ भन्नुहुन्छ । व्यवस्थापन गर्ने जिम्मेवारी उहाँहरूकै हो । जति काम हुन्छ नापेर त्यसकै आधारमा पैसा पाउँछ ।’

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि एक हप्तामा मर्मतको काम नसके आयोजनाले नै गर्ने र पछि त्यसको सोधभर्ना चिनियाँ ठेकेदार कम्पनीबाट भराउने चेतावनी दिइन् । यसअघि आयोजनाले ठेकेदार कम्पनीलाई फिल्डमै लगेर कुन कामलाई प्राथमिकतामा राखेर कसरी गर्ने भनेरसमेत निर्देशन दिएको थियो ।

मर्मत गर्नै पर्छ, विकल्प छैन
जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले दाउन्नेमा पाँच किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । उनले भने, ‘अरू ठाउँमा पहिरो जाँदा, बाटो भत्किँदा वैकल्पिक मार्ग निर्माण गर्न सकिन्छ तर लाइफलाइनका रूपमा रहेको दाउन्नेमा यस्ता कुनै विकल्प नभएकाले बर्खा लाग्नुअघि नै मर्मत गर्नु पर्छ । पछि गरौँला भनेर हुन्न ।’

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्