मिथ्या र भ्रामक सामग्रीलाई समाचारका रूपमा पस्कनु हुँदैनः अध्यक्ष बस्नेत


 


काठमाडौँ, २० जेठ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रूपमा पस्कन नहुने बताउनुभएको छ ।

मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामा धक्का लागेका तर्फ सबै सचेत हुनुपर्ने उहाँको धारणा थियो ।

युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आज यहाँ आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याउन आग्रह गर्नुभयो ।
“माध्यम जुनसुकै होस् तर अहिलेको खाँचो भनेको परिपक्व पत्रकारिताको हो । अरुलाई प्रश्न मात्र उठाउने काम त सबैले गर्न सक्छन्, हामीले विवादरहित, जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले स्वस्थ, मर्यादित र जवाफदेहि पत्रकारिताले मात्रै समाजको हित गर्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो भएमा युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युबरहरूलाई आग्रह गर्नुभयो । “हाम्रो पेसालाई राम्रो बनाउने दायित्व हाम्रो नै हो, त्यसैले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने यसको मर्यादामा रहनै पर्छ । मर्यादाभन्दा बाहिर गएपछि त्यो पत्रकारिता हुँदैन”, उहाँले भन्नुभयो ।

प्रेस काउन्सिल नेपालले युट्युबमार्फत सञ्चारकर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । आज भएको चौथो शृङ्खलामा अध्यक्ष बस्नेत, सञ्चार विज्ञ डा भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसअवसरमा सञ्चारविज्ञ डा आचार्यले पत्रकारिता क्षेत्र विश्वसनीय र परिणाममुखी बनाउन पत्रकारले सत्यतथ्य सामग्री छनोट गरेर समाचार दिनुपर्ने र त्यसमा प्रेस काउन्सिलको सशक्त उपस्थिति रहनुपर्ने बताउनुभयो । युट्युबका माध्यमबाट हुने गरेको पत्रकारिताले सामाजिक उत्तरदायित्व बहन नगरेको भन्दै उहाँले समाचार दिने बेलामा नै पाठकलाई भ्रम छर्ने, गलत दिशानिर्देश गर्ने र समाजमा अपाच्य हुने विषयलाई काँटछाँट गरेर दिन सक्नुपर्नेमा जोड दिनुभयो । एक सय ३० वर्ष पुरानो छापा माध्यमबाट सुरू भएको पीत पत्रकारिताको अभ्यास अहिले डिजिटल माध्यमबाट भइरहेको भन्दै उहाँले यस्तो पत्रकारिता विश्वका कुनै पनि मुलुकका लागि उपयुक्त नहुने बताउनुभयो ।

कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत खनालले युट्युब व्यवस्थापनका लागि काउन्सिलले गरेका पहल र त्यसको प्रगतिबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा ३० जना युट्युब सञ्चालकरसम्पादकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्