नेपालमा ब्रिटिस लगानीका लागि अनुरोध


 


काठमाडौँ, २० जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ब्रिटिस लगानी बढाउनका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको छ ।

नेपालका लागि बेलायती राजदूत रोब फेनसँगको भेटका अवसरमा उहाँले सो आग्रह गर्नुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भेटका अवसरमा अध्यक्ष ढकालले वैदेशिक नेपालमा लगानीका सम्भावनाबारे जानकारी गराउँदै नेपाल सरकारले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि चर्चा गर्नुभएको थियो ।

नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्धन गर्न आग्रह गर्नुभयो ।

निजी क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पु¥याइरहेको अवस्थाबारे पनि उहाँले राजदूतलाई जानकारी गराउनुभएको थियो । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि उल्लेख गर्नुभएको जनाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन केही समयअघि मात्र लगानी ऐन परिमार्जन गरेको उहाँको भनाइ थियो । ढकालले राजदूत फेनलाई नेपालमा जलविद्युत्, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी पनि राजदूतलाई गराउनुभएको थियो ।

भेटवार्ताका क्रममा महासङ्घ उपाध्यक्ष हेमराज ढकाल, सङ्घका लगानी फोरमका सभापति मनोज पौडेल र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले नेपालमा लगानीका नयाँ सम्भावनाबारे जानकारी गराउनुभएको थियो । भेटका अवसरमा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राख्नुभएको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्