विकल पौडेलका परिवार र ससुरालीमाथि सिआइबीको अनुसन्धान


 


काठमाडौं । भ्रष्टाचार मुद्दामा जेलमा रहेका सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे(सिआइबी) ले समेत अनुसन्धान अघि बढाएको छ ।

पौडेलले भ्रष्टाचारको पैसा हुन्डीबाट विदेश पठाएको खुलेपछि सिआइबीले छानविन थालेको हो । पौडेलविरुद्ध अख्तियारले चार वटा मुद्दा दायर गरिरहेको छ । जसमध्ये दुई वटामा उनी दोषी ठहर भइसकेका छन् ।

अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । अख्तियारले चार महिना हिरासतमा राखेर उनलाई अनुसन्धान गरेको हो ।

उनको मोबाइल र ल्यापटपका विवरणमाथि विस्तृत छानविन हुँदा उनका अवैध कारोबारहरू पत्ता लागेका हुन् । जस क्रममा उनले अमेरिकामा हुन्डीमाफर्त पैसा पठाउने र त्यसलाई बैंकिङ च्यानलबाट नेपाल ल्याएर शुद्धीकरण गरेको समेत खुलेको छ ।

अमेरिकामा बस्ने उनकी श्रीमती एलिना बस्नेत तथा साला एलिसराज बस्नेतको नाममा हुन्डीबाट पैसा पठाएको देखिएपछि यसमा विस्तृत अनुसन्धान गर्न अख्तियारले सिआइबीलाई पत्राचार गरेको हो ।

सोही आधारमा सिआइबीले उनीमाथि अनुसन्धान अघि बढाएको छ । यसमा हुन्डी कारोबारमा संलग्न अन्य व्यक्तिहरू समेत तानिने सम्भावना छ ।

पौडेलको अमेरिकामा समेत घर र शेयर कारोबार छ । हुन्डीमार्फत पैसा लगेरै उनले खरिद गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीविरुद्ध भ्रष्टाचारका चार मुद्दा दायर भएकोमा दुईमा दोषी ठहर भइसकेका छन् । सरकारी सेवामै रहँदा अमेरिकाको पिआर लिएको मुद्दामा विशेषले १४ जेठमा दोषी ठहर गरी एक वर्ष कैद सुनाइसकेको छ ।

८ जेठमा पौडेलसहित चारजनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ९ करोड ६२ लाख भ्रष्टाचार गरेको ठहरसहित फैसला सुनाएको थियो ।

पौडेलका कारण नेपाल सरकारलाई २५ करोड ४७ लाखभन्दा बढी नोक्सानी भएको ठहरसहित दुई वर्ष कैद सजाय सुनाएको थियो । प्रेस खरिदमै अनियमिततासम्बन्धि गत ३० वैशाखमा उनीविरुद्ध अर्को मुद्दा दायर भएकोमा त्यो भने विचाराधीन छ ।

२०६१ सालमा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियर पदबाट सरकारी सेवामा प्रवेश गरेका पौडेल २०७४ सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशनमा नियुक्त भएका थिए ।

उनले ६२ करोड रुपैयाँ अवैध आर्जन गरेको दाबीसहित गत साता अख्तियारले मुद्दा दायर गरेको थियो । उनको दुबई लगायत ठाउँमा लुकाइएको सम्पत्तिको समेत खोजी भइरहेको अख्तियार स्रोत बताउँछ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्