वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा


 


काठमाडौँ, जेठ २३ । विश्व वातावरण दिवसका अवसरमा ‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ गरिएको छ ।

जलवायुका क्षेत्रमा कार्यरत संस्था साथसाथैको मुख्य आयोजना र अन्य विभिन्न ६४ संस्थाको समन्वयमा आज भद्रकालीबाट सुरु भएको पदयात्रा सुन्धारा न्यूरोड हुँदै वसन्तपुरमा सभामा परिणत भएको थियो ।

सभामा उपसभामुख इन्दिरा रानामगरले नेपालको आर्थिक समृद्धिको मुख्य आधार र पर्यटकको मुख्य आकर्षक हिमाल पग्लिएर कालापत्थरमा परिणत हुन लागेका विषय चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबैको सरोकारको विषय बन्नुपर्छ र यसको समाधानका लागि आजैदेखि सबै आ–आफ्नो तर्फबाट जुट्औँ । आफ्नो दिनचर्यामा वातावरण संरक्षणका लागि विद्युतीय चुलोको प्रयोगबाटै सुरुवात गरौँ ।”

उपसभामुख रानामगरले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि यसका कारण नेपालले विभिन्न विपद्, बेमौसमी तथा अनियमित वर्षा, कृषि तथा बालिनालीमा असरलगायतका समस्या भोग्नु परेको बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमाल कालो हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले भोग्नुपरेका यस्ता समस्याको समाधानका लागि कार्बन बढी उत्सर्जन गर्ने औद्योगिक र विकसित मुलुकसँग क्षतिपूर्ति मागदाबी गर्नुपर्छ ।”

उहाँले वातावरणीय विनाशका कारण स्थानीय जनता विस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आजैदेखि वातावरण संरक्षणमा जुट्न सबैलाई ऐक्यबद्धता गर्न आग्रहसमेत गर्नभयो । उहाँले विकासका नाममा हेलचेक्र्याई गर्दा विनाश निम्तिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा ९एमाले० का सचेतक सुनिता बरालले वातावरण संरक्षणका क्षेत्रमा आफूहरु नीतिगत रुपमै काम गर्न सांसदहरुको समूह बनाउने तयारीमा रहेको जानकारी गराउनुभयो । नेपाली कांग्रेसका नेत्री एवं संविधानसभा सदस्य लक्ष्मी परियारले वातावरण संरक्षणमा सरोकारवालासँगै राजनीतिकर्मी पनि संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

मधेसी आयोगका सदस्य रेणुदेवी साहले नेपालको सुन्दर प्राकृतिक सम्पदा जोगाएर पर्यटन प्रवद्र्धन गर्नसके मात्र समृद्धि हासिल हुने बताउँदै यसमा सबैले ऐक्यबद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । साथ साथैका अध्यक्ष प्रजिता कार्कीले वातावरण जोगाउन सबैको सहकार्यको आवश्यकता औल्याउँदै यसका लागि आजैदेखि सबैले व्यक्तिगत रुपमै घरपरिवारबाटै पहलकदमी लिनुपर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित सबै संस्थाका प्रतिनिधिले वातावरण संरक्षणका लागि ऐक्यबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्