बसाइँसराइले रित्तिँदै मौलाछ गाउँ


 


बागलुङ, जेठ २४ । “गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही डाक्टर पनि भए । अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ”, जैमिनी नगरपालिका–४ सर्कुवाकाका सुशीलाकुमारी शर्माले दुखेसो पोख्नुभयो ।

उहाँका अनुसार जैमिनीको केन्द्र कुश्मिसेरा नजिकैको मौलाछ गाउँ बसाइँसराइका कारण रित्तिदै गएको बताउनुभयो । सिङ्गो गाउँका केही घरमा मात्रै युवा भेटिन्छन् । बालबालिका त छैनन भन्दा पनि हुने अवस्था छ । बसाइँसराइ बढ्दै जाँदा पुराना घर  खण्डहर बन्दै छन् भने खेती हुने जमिन बाँझिने क्रम बढेको छ । 

जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछ गाउँमा ८८ घरमध्ये अधिकांश खाली रहेको उहाँको भनाइ छ । “मौलाछमा अहिले बुढापाका मात्रै छन्, ८८ घरमा जम्मा ३३ घरमा मात्रै मानिस बस्छन् भने अन्य घर खाली छन्”, शर्माले भन्नुभयो, “यहाँका मानिसहरु चितवन, पोखरा, काठमाडौँ र बुटवलमा बसाइँ सर्ने गरेका छन् ।” बसाइँसराइ बढ्दै जाँदा गाउँमा भएको एक मात्र प्राथमिक विद्यालय विद्यार्थीबिहीनको अवस्थामा पुगेको छ ।

स्थानीय हीरा पौडेलले भन्नुभयो, “बस्ने स्थान अभावमा गुन्द्री लगेर पढ्ने घरैमाथिको सर्वोदय प्राथमिक विद्यालयमा अहिले विद्यार्थी छैनन्, सबै पढ्न र जागिरको खोजीमा गाउँ टाढेपछि अहिले सुनसान भएको छ ।” उहाँका अनुसार गाउँमा मर्दापर्दा पनि मानिस पाउन गाह्रो हुने अवस्था आइसकेको छ ।

बसाइँसराइ रोक्न जैमिनी नगरपालिकाले विद्यालयसँग अभिभावकलाई जोडेर पढ्दै कमाउँदै कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ । 

मौलाछमा पहिलेदेखि नै बसाइँसराइ हुँदै आएको हो । अहिले अन्यत्रका गाउँमा बसाइँसराइ बढेपछि नगरपालिकाले एकीकृत कृषि र बाँझो जग्गा सदुपयोगका लागि ओखर  र कागतीखेती कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ । 

“बसाइँसराइ र बाँदरको समस्या हाम्रो पालिकामा मात्रै हैन तर जैमिनीको समस्या  हो, बसाइँसराइ रोक्नका लागि प्रयास गरिरहेका छौँ”, शर्माले भन्नुभयो । गाउँमा विद्यार्थीको घट्दो अवस्था हेरेर लिड विद्यालय र पढ्दै कमाउँदैको अवधारणा ल्याएको छ । नगरपालिकाले जैमिनीको सर्वोदयजनक माध्यमिक विद्यालयमा लागू गरिएको पढ्दै कमाउँदै कार्यक्रममा अभिभावकलाई पनि सहभागी गराउन थालिएको छ । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्