इटहरीमा ‘इस्टर्न ट्राभल मार्ट’ सुरु


 


सुनसरी, २५ जेठ । इटहरीमा तीनदिने ‘इस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा पर्यटन व्यवसायको विकास गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजनामा आजदेखि इटहरीको सोल्टी वेस्टेन्डमा तीनदिने ‘ट्राभल मार्ट’ सुरु भएको हो ।

मार्टको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पर्यटनको सम्भावना राम्रो रहेको बताउँदै यस क्षेत्रको पर्यटकीय विकासका लागि सरकार सधैँ तयार रहने बताउनुभयो । उहाँले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि प्रदेशका सीमावर्ती भारतीय सहर र नेपालका सबै ठाउँमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

‘ट्राभल मार्ट’मा नेपालका ५० र भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भूटान र बङ्गलादेशलगायत अन्तर्राष्ट्रियस्तरबाट ८० भन्दा बढी ‘ट्राभल’ व्यवसायी, पर्यटनसँग सम्बद्ध सङ्गठनका प्रतिनिधि गरी एक सय ४० जनाको सहभागिता रहेको मार्टका संयोजक भविषकुमार श्रेष्ठले बताउनुभयो । पर्यटन बोर्डको रु ३० लाख र इटहरी उपमहानगरको रु छ लाख लागतमा कार्यक्रम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

इटहरी धरानरोड आँपगाछीस्थित सोल्टी वेस्टेन्डको प्राङ्गणमा सुरु भएको मार्टमा ३० वटा स्टल रहेका छन् । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको समापन झापाको काँकरभिट्टास्थित होटल मेची क्राउनमा यही जेठ २७ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्