अज्ञात रोगले जुम्लामा २३ भेडा मरे


 


कर्णाली, जेठ २७ । जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् । सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताउनुभयो ।

“भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने, रिङ्गटा लाग्ने, झोक्राउने समस्यापछि मृत्यु हुने गरेको छ,” उहाँले भन्नुभयो, “यो तीन दिनमा १० र एक महिनामा २३ भेडा मरिसकेका छन ।” यसरी भेडा मर्न थालेपछि उपचारका लागि पशु प्राविधिकलाई खबर गरिएको उहाँको भनाइ छ ।

हिमा गाउँपालिकाका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा पशु प्राविधिक पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार औषधि सकिएकाले स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ । औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढरिहेको छ । उहाँले उपचार तथा रोकथामका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लामा औषधिको माग गरिएको बताउनुभयो ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा रहेको पशु शाखाले पहिचान गरेको रोगका आधारमा औषधि पठाउने जानकारी दिनुभयो । भेडा मर्न थालेपछि भेडीगोठ नदै पाटनबाट कालाकाटियातिर सारिएको स्थानीय किसानले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्