बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार, सर्प धेरै


 


बाँके, जेठ २८ । बाँकेमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वन्यजन्तु उद्धार गरिएको छ । चालु आवको जेठ ११ गतेसम्म ७६ वटा वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

सहायक वन अधिकृत नवराज शाहीका अनुसार यस वर्ष सबैभन्दा धेरै घस्रने प्रजाती अन्तर्गत पर्ने सर्पको उद्धार गरिएको छ ।

फेटारा, दुई मुखे, गोमन, करेत, धामन, अजिङ्गर, रसियन भाईपर गरी ४९ वटा सर्प उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये विषालु सर्प अन्तर्गत फेटारा प्रजातिको सर्पको सङ्ख्या १५ रहेको छ भने गोमन सर्पको सङ्ख्या सात रहेको छ ।

त्यसैगरी तीन करेत र तीन कोब्रा प्रजातिका सर्प उद्धार गरिएको छ । चारवटा चित्तल उद्धार गरिएको सहायक वन अधिकृत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष एउटा मात्र पाटे बाघको उद्धार गरिएको छ ।

डिभिजन वन कार्यालय बाँकेको अनुसार आव २०७६/७७ मा जम्मा १७ वटा वन्यजन्तु उद्धार गरिएको थियो । आव २०७७/७८ मा ३४ वटा उद्धार गरिएको थियो । त्यसैगरी आव २०७८/७९ मा ३१ वटा वन्यजन्तुलाई उद्धार गरिएको र आव २०७९/८० मा ४२ वटा वन्यजन्तु उद्धार गरिएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

सहायक वन अधिकृत शाहीका अनुसार वन्यजन्तु उद्धारको सङ्ख्या बढ्नुको कारण वन्यजन्तु हिँडडुल गर्ने जैविकमार्ग अतिक्रमणमा परेर मानव बस्ती विकास र भौतिक संरचना निर्माण गरिनु हो । यसका साथै वन्यजन्तु संरक्षणयमा चेतनाको विकास भएको हुनाले पनि वन्यजन्तु जीवितै उद्धार गरिएको सहायक वन अधिकृत शाहीले बताउनुभयो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्