राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भाव जोगाउन राजनीतिक स्थिरता आवश्यक छः पोखरेल


 


मकवानपुर, जेठ २८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।

एमाले मकवानपुरको १२औँ अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीलाई आज हेटौँडामा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै उहाँले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी अडिग रहने बताउनुभयो । “राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक छ । त्यसका लागि सबै दल एक ठाउँमा उभिन जरुरी छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नभयो, “एमाले सधैँ राष्ट्रिय स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिरहेको छ । हामी राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न सधैँ दृढ रहने छौँ ।” 

उहाँले पार्टीका नेता, कार्यकर्ता तथा पार्टी निकट भ्रातृ सङ्गठन तथा शुभेच्छुक सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो । एमाले मकवानपुरको यही जेठ १८, १९ र २० गते हेटौँडामा १२औँ अधिवेशन सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्