रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवा निरीक्षण


 


काठमाडौँ, २८ जेठ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण गर्नुभएको छ ।

उहाँलाई सैनिक हवाइसेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाइसेवाका विविध गतिविधिबारे जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसअवसरमा रक्षा मन्त्री उप्रेतीले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणको अवलोकन गर्नुभयो । मन्त्री उप्रेतीले सैनिक हवाई सेवालगायत अन्तर्गतका युनिटबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । यसअघि उहाँलाई मध्यएयर वेशमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्नुभयो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्