समीरा तिमी एक्ली थिईनौ


 


कविता
आचार्य प्रभा
समीरा
तिम्रो अन्त्य जसरी भो
तिमीले खुसीले चित्त बुझाउ
जाँदा मान्छेले जति लान्छ नि
हो त्यहि हो रे मान्छेको
चोखो सम्पति,
तिमी चीर निन्द्रामा थ्यौ
तिम्रा वरिपरी कत्ति थिए
तिमीलाई शुभकामनाका
गुच्छा चढाउने निस्छल हातहरु।
अंह ……तिमी एक्ली थिईनौ
तिमीसँग हज्जारौं मनहरु थिए
हो…….. तिमी प्रवासी माटोमा
पलायन भयौ।
तर……..,तिमीसँग आफ्नै माटोको
सुगन्धरुपी मायाहरू थिए
अनि थिए तिम्रा सिउँदोभरि
रातो सिन्दुर र गलाभरी पोंते
जो तिमीले प्रवासी माटोमापनि
आफ्नो श्रीमानको हातबाट
फेरि पहिरिने सौभाग्य पायौं|
तिमी मृत भयौ त के भयो?
तिमी कल्कलाउँदो बैंशभित्र
कस्तरी मदमस्तसँग
मीठो निदरीमा मौनता
साटिरहेकी थियौ?
हो तिमी संधैलाई निदायौ
केहि समयअघि अरुभन्दा
तर………..,
तिमी त भाग्यमानी
सबैको स्नेह र मायामा
लुट्पुटिएर निदायौ,
यता सुन त ………,
यहाँ आफ्नै माटोमा
बिपत्तिमा परेर कत्तिले
काल नआई
ज्यान गुमाए!
न’त उनीहरुले श्रद्धान्जली नै पाए
न’त दुई थोपा आँसुको उपहार नै
त्यसैले……समीरा,
तिम्रो मृत्युवरणमा तिमी
दुखित् नबन
बस्….जत्ति पाउनुथ्यो पायौ
गुमाउनु त आफ्नो संसार अनि
सर्वस्व गुमायौ।
तरपनि लाखौँ नेपालीहरुको
माया पायौ ,
समीरा कस्लाई के थाहा ?
जिन्दगीले यसरि धोका दिन्छ भनि
मृत्युले कसैलाई दया राख्दैन भनि
हो ………जे पायौ,
आफ्नो कर्मको रेखामा अंकित
मृत्युको अक्षर पायौ
तर……..यत्ति हो अलिकति
समय लम्बिनु पर्थ्यो
अफ्सोच!!!
मृत्युले तिमीलाई छिट्टै रुचायो !
अन्त्यमा मपनि
यहि भन्न बाध्य हुन्छु
तिम्रो चीरआत्मालेपनि उसरी नै
शान्ति पाओस्……………/
सेतोपाटीबाट

प्रकाशित मिति: ३ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्