हिरोबाट जिरो नेयमर


 


सान्टियागो (रोयटर्स), असार ४

करिब दुई साताअघि नेयमरले गोल गरेपछि युभेन्ट्सलाई हराएर बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि जितेको थियो तर उनले कोपा अमेरिकामा बुधबार अनावश्यक रूपमा रातो कार्ड बेहोरेका छन् । ब्राजिली फरवार्डका लागि यो नै प्रतियोगितामा अन्तिम खेल पनि हुन सक्छ ।

समूह ‘सी’ मा कोलम्बियासँग १–० ले हारेपछि दक्षिण अमेरिकी प्रतिद्वन्द्वीसँग झगडामा संलग्न भएकाले नेयमरले रातो कार्ड पाएका थिए । अब उनले आइतबार भेनेजुएलाविरुद्धको खेल गुमाउनेछन् र सम्भवत: अर्को एक खेल पनि । २३ वर्षे उनले सुरुमै हातले बल चलाउँदा पहेंलो कार्ड पाएका थिए । आफू अफिसियलको सिकार भएको गुनासो गर्दै उनले चिलीका रेफ्री एनरिके ओसेसको आलोचना गरेका छन् । एनरिकेले झगडामा संलग्न कोलम्बियाली फरवार्ड कार्लोस बाकालाई पनि रातो कार्ड दिएका थिए ।

‘उनीहरूले मविरुद्ध नियम प्रयोग गरे,’ नेयमरले भने, ‘नियतवश होइन, बलले हातमा लागेको हो र त्यसमा मैले पहेंलो कार्ड पाएँ । यो रेफ्रीको कमजोरीका कारण भएको हो । त्यसमा गलत बुझाइ थियो तर कसैलाई रातो कार्ड आवश्यक थिएन । मलाई रातो कार्ड दिएको पनि मैले देखिनँ ।’

त्यो हार ब्राजिलका लागि १२ खेलयता पहिलो थियो । विश्वकप २०१४ पछि प्रशिक्षक डुंगाले टिम सम्हालेयताकै पहिलो हार यही हो । समूह ‘सी’ मा कोलम्बिया र ब्राजिल ३–३ अंकसहित भेनेजुएलासँगै अगाडि छन् । एक खेल कम खेलेको भेनेजुएलाले पेरुविरुद्ध (दोस्रो खेल) खेल्न बाँकी छ । नेयमरले कोलम्बियाविरुद्ध कमजोर खेल प्रदर्शन गरेको स्वीकारे तर उनी सहकर्मीहरूले भेनेजुएलाविरुद्ध अनुकूल नतिजा निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गर्नेमा विश्वस्त छन् ।

‘हामी राम्रो थिएनौं र त्यसमा मैले राम्रो खेलिनँ,’ नेयमरले भने, ‘म यसमा पूर्ण जिम्मेवार छु ।’ नेयमरले बार्सिलोनासँगको दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले क्याटलन महारथीलाई च्याम्पियन्स लिग, ला लिगा र किङ्स कपसहित तीन उपाधि जिताउन सहयोग गरेका थिए ।

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्