एसिया कप छनोट : नेपालले कुन–कुन देशको सामना कहिले गर्देछ ?


 


काठमाडाैं, माघ १०

एएफसी सोलिडारिटी कप विजेता नेपाल एसियन कप २०१९ अन्तिम चरणको छनोटमा फिलिपन्स, ताजिकिस्तान र यमनसँगै समूह ‘एफ’मा परेको छ ।

अवुधावीमा सोमबार गरिएको ‘ड्र’मा नेपाल ‘पट ४’ मा रहेको थियो । नेपालले ‘होम एन्ड अवे’को आधारमा हुने अन्तिम चरणको छनोटमा बलियो टिमको सामना गर्नुपर्ने भएको छ ।

नेपाल फिफा वरीयताको १ सय ७५ औं स्थानमा छ । यमन १ सय ४९, ताजिकिस्तान १ सय ३२ र फिलिपिन्स १ सय २२ औं स्थानमा छन् ।

नेपालले फिलिपिन्ससँग निरन्तर हार बेहोर्दै आएको छ । फिलिपिन्समै २८ मार्च, २०१७ मा हुने खेलबाट नेपालले एसियन कप २०१९ मा अन्तिम चरणको छनोट सुरु गर्नेछ ।

अन्तिम चरणको छनोटमा २४ टिम सहभागी छन् । उनीहरुलाई ‘ड्र’मार्फत् चार–चार टिमको ६ समूहमा राखिएको छ । प्रत्येक समूहको शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन् ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापानलगायत विश्वकप २०१८ मा एसियाली छनोटको अन्तिम चरणमा पुगेका १२ देशले यसअघि नै एसियन कपको यात्रा पक्का गरिसकेका छन् ।

नेपालले फाइनलमा मकाउलाई हराएर नोभेम्बर, २०१६ मा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो । यसवीच गुआमले एसियन कप छनोटबाट हात झिक्यो र कुवेत फिफाको कारबाहीमा पर्‍यो ।

त्यसैले एसियाली फुटबल महासंघ ९एएफसी० ले सोलिडारिटी कपको नतिजाको आधारमा नेपाल र मकाउलाई फेरि एसियन कप छनोट खेल्ने अवसर दिएको हो । त्यसअघि नेपाल एसियन कप छनोट चरणको प्ले–अफमा भारतसँग हारेको थियो ।

नेपालका खेलहरुकाे तालिका

२८ मार्च २०१७ फिलिपन्सविरुद्ध (अवे)
१३ जुन, २०१७ यमनविरुद्ध (होम)
५ सेप्टेम्बर, २०१७ ताजिकिस्तानविरुद्ध (होम)
१० अक्टोबर, २०१७ ताजिकिस्तानविरुद्ध (अवे)
१४ नोभेम्बर, २०१७ फिलिपिन्सविरुद्ध (होम)
२७ मार्च, २०१८ यमनविरुद्ध (अवे)

प्रकाशित मिति: १० माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्