पुबुदुको सम्झौता थपियो


 


काठमाडौं, असार ५

Pubuduनेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता आउँदो डिसेम्बर महिनासम्म थप गर्ने निर्णय गरेको छ । क्यानको शनिबार काठमाडौंमा सम्पन्न वार्षिक साधारणसभाले प्रशिक्षक पुबुदुको सम्झौता आउँदो डिसेम्बर अर्थात पुस १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रशिक्षक पुबुदुको यसअघिको सम्झौता सकिन लागेको थियो । युवा तथा खेलकुद मन्त्रालयले गएको वर्षको भदौमा प्रशिक्षक पुबुदुसँग १० महिने सम्झौता गरेको थियो ।

क्यानको साधारणसभाले पुस १५ गतेसम्म सम्झौता नविकरणका लागि युवा तथा खेलकुद् मन्त्रालयसँग आग्रह गर्ने र मन्त्रालयले नमाने नयाँ ढंगले आफै सम्झौता गर्ने निर्णय गरेको क्यानका कार्यवाहक अध्यक्ष दिपक कोइरालाले जानकारी दिए । उनले पुस १५ गतेसम्म सम्झौता नविकरण गर्ने विषयमा प्रशिक्षक पुबुदुसँग कुरा भैसकेको पनि बताए ।

क्यानको साधारणसभाले अधिवेशनको मिति समेत तय गरेको छ । नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २० र २१ गते भैरहवामा अधिवेशन गर्ने निर्णय गरेको साधारणसभाले अधिवेशनबाट विधान संशोधनका लागि विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

प्रकाशित मिति: ५ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्