सरकारी स्कुलमा किन बढी फेल ?


 


कम पढाउने र बढी राजनीति गर्ने शिक्षकका कारण एसएलसीको नतिजा कम

 काठमाडौं, असार ५

यस पटकको एसएलसी नतिजामा सामुदायिक विद्यालयका ३३.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। सामुदायिकको तुलनामा न्यून तलब र सुविधा हुने संस्थागत अर्थात् निजी विद्यालयको उत्तीर्ण प्रतिशत भने ८९.३० रह्यो।

एकै प्रकारको शिक्षा प्रणाली र परीक्षा प्रणालीभित्र देखिएको नतिजाको यो अन्तरले सरकारले विद्यालय शिक्षामा गरेको लगानीको सदुपयोग हुन नसकेको प्रस्ट देखिएको छ।

चालू आर्थिक वर्षका लागि शिक्षामा राज्यले ८६ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ। यसको ८० प्रतिशत विद्यालय तहमा खर्च हुने सरकारी तथ्यांक छ, जुन अधिकांश शिक्षकको तलबभत्तामा जान्छ।

सामुदायिकतर्फ ३ लाख २ हजार ३ सय ९९ जना परीक्षामा सहभागी भएकोमा १ लाख ३ सय ४२ जना उत्तीर्ण भए। निजीतर्फका १ लाख २ हजार ९ सय ३९ परीक्षार्थीमा ९१ हजार नौ सय २५ जना पास भए।

शिक्षाविद्हरूका अनुसार कम पढाउने र बढी राजनीति गर्ने शिक्षकका कारण सामुदायिकतर्फ नतिजा राम्रो नआएको हो। शिक्षक नियुक्त गर्दा क्षमतावान्लाई पाखा लगाएर राजनीतिक आस्थाका आधारमा गर्दा पनि यस्तो भएको विज्ञहरूको धारणा छ।

नीतिगत सुधार नहुनु, व्यवस्थापन समितिमा राजनीति, हुनेखाने र सचेत वर्गले सामुदायिक विद्यालयलाई आफ्नो नठान्नु, शिक्षकलाई जागरुक बनाउने नीतिगत तहका अधिकारीले जिम्मेवारी वहन नगर्नु पनि सामुदायिक विद्यालय पछि पर्नुका कारण हुन्।

शिक्षाविद् प्राध्यापक डा. तीर्थ पराजुली सामुदायिक विद्यालयमा शिक्षकलाई सुधार गर्न नसकिएसम्म एसएलसी नतिजा सुधार गर्न कठिन हुने बताउँछन्। नतिजामात्र होइन, समग्र शिक्षाको स्तर उकास्न सामुदायिक विद्यालयमा अस्थायी र करार सेवामा कार्यरत शिक्षकका समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।

अन्नपुर्ण पोष्ट दैनिक

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्