स्थानीय निर्वाचनको तयारीमा जुट्न काँग्रेसद्धारा पार्टीका नेता कार्यकर्तालाई निर्देशन


 


काठमाण्डौ , माघ २१

नेपाली काँग्रेसले स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले निर्वाचनमा केन्द्रित भएर जनतामा जान पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीको भातृ संगठन नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय परिषद् भेलालाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय निर्वाचनमा जित्नेगरी तयारी गर्न मजदुर नेताहरुलाई सचेत गराए । चुनाव जित्न सक्नेलाई मात्र पार्टीले स्थानीय निर्वाचनमा उम्मेदवार बनाउने उनको जिकिर छ।

साथै सभापति देउवाले श्रमिकहरुको आधारभूत अधिकार सुनिश्चित गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले मजदुरहरु उद्योगको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए। उद्योग नभए मजदुरको हित नहुने उनको तर्क थियो । यसैगरी महामन्त्री डा. शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि मजदुर नेताहरुले दबाव दिनुपर्ने बेला आएको बताए।

एक वर्षभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गराउनुपर्ने कार्यभार पूरा गर्न पनि मजदुरहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। कार्यक्रममा मजदुर नेताहरुले राष्ट्रको नीति निर्माण तहमा मजदुर उल्लेख्य प्रतिनिधित्व नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरुले श्रममैत्री कानुन निर्माणको दिशामा पनि ठोस पहलकदमी लिन पार्टीलाई आग्रह गरे।

 

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्