चार किलो सुन चोरी


 


भरतपुर, माघ २१

भरतपुर उपमहानगरपालिका-२ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा बिहीबार राति अनौठो प्रकारले चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार विकास बर्माले आफ्नो पसलबाट चार किलो सुन, चार किलो ५ सय ग्राम चाँदी, सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन् ।

प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्को साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । पसलभित्रको सिसी क्यामराको डिभिआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन ।

बजारका सडकमा राखिएका सिसी क्यामरामार्फत अनुसन्धान थालिएको उहाँले बताए । अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढङ्गले यसको अनुसन्धान थालेको बताउँदै उहाँले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गरे ।

 

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्