एकल महिलालाई नागरिकता दिन घुम्ती शिविर


 


काठमाडौँ (रामकोट), माघ २६

नागरिकता र राज्यको सुविधाबिहीन एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने भएको छ । नागार्जुन नगरपालिका र मानव अधिकारको लागि महिला एकल महिला समूहले आज रामकोटमा आयोजना गरेको नागरिकता, व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्ध सूचना प्रदर्शनी कार्यक्रममा पीडित महिलाले गुनोसो गरेपछि काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले पचासभन्दा बढी त्यस्ता मुद्धा भएको र अन्य सम्बन्धित कार्यालय तथा स्थानीयको मागका आधारमा घुम्ती शिविर सञ्चालनको नीति रहेको स्पष्ट गर्दै उचित जनचेतनाको अभावमा काठमाडौँमा पनि अझै महिला तथा बृद्धाहरु नागरिकताबिहीन रहेको जनाउनुभयो ।

प्रदर्शनीमा कूल ११४ विभिन्न मुद्धाबारे सूचित गरिएकामा ३० वटा नागरिकताबिहीनसहित मुख्य घटना दर्ता भएका थिए । कार्यक्रममा नागरिकताविना बृद्धभत्ता, पानी, विजुली मात्र होइन मोबाइलको सिमकार्ड पनि पाउन नसकिने मार्मिक संवादसहितको ‘अनागरिक’ नाटक देखाइएको थियो ।

समूहका संस्थापक अध्यक्ष लिली थापाले महिलाहरुले व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्ध आगामी दिनमा समयमै सरकारी नियकामा सूचना दिनेबारेमा चेतना नहुँदा उनीहरुले न्याय पाउन नसकेको बताउनुभयो ।

संस्थाका अध्यक्ष निर्मला ढुङ्गानाले देशभर एकल महिलाको हक अधिकार तथा सशसतिmकरणका लागि आफूहरुले दुई दसकदेखि वकालत गर्दा पनि अझै सबै एकल महिलाले नागरिकता पाउन नसक्नु विडम्बना भएको बताउनुभयो । रासस

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्