युनाइटेड मोदी हाइड्रोपावरको साधारण सेयर आउँदै


 


काठमाडौँ, माघ २७

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो ।

यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो ।

आयोजनाले आयोजना प्रभावितलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ । १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुने छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ । सर्वसाधारण र स्थानीय बासिन्दालाई गरी कुल रु २८ करोड बराबरको २८ लाख कित्ता सेयर निष्कासन हुनेछ ।

हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको छ भने १० मेगावाट क्षमताको तल्लो मोदी २ निर्माणको तयारी गरेको छ ।

प्रकाशित मिति: २७ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्