कस्तो भयो नेपाली क्रिकेट टोलीको भारत यात्रा ?


 


भारत यात्रा फलदायी : कप्तान पारस

काठमाडौं– विश्व ट्वान्टी–२० छनोटको तयारीका लागि भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ। भिसा प्रक्रिया र बन्द प्रशिक्षणका लागि टोली जेठ १७मा भारत गएको थियो। राष्ट्रिय टोलीका कप्तान पारस खड्काले बन्द प्रशिक्षण राम्रो भएको बताए।

 उनले भने, ‘भारतमा बन्द प्रशिक्षण राम्रो भयो। सुविधाका हिसाबले हामीले राम्रोसँग अभ्यास गर्ने अवसर पायौं। अभ्यास खेलले हामी धेरै फाइदा भएको छ। हिमाञ्चल टोलीमा रणजी ट्रफी खेलिसकेका खेलाडी थिए। उनीहरूसँगको खेलमा हामीले नयाँ प्रयोग गर्यौंस। यसले हाम्रो टिममा थप नयाँ सम्भावना खोज्ने अवसर मिल्यो।’
कप्तान पारसले विश्वकप छनोट चरण पार गर्ने क्षमता नेपाली टोलीमा भएको दाबी गरे। उनले थपे, ‘विश्वकप छनोट हुन सहज छैन। तर, हामीसँग छनोट हुने क्षमता छ। विगतका अनुभव र हामीसँग क्षमतावान टिम छ। छनोट हुन राम्रो खेल्न सक्नुपर्छ।’ भारतको राज्य स्तरको टोली हिमाञ्चलसँग नेपालले चार ट्वान्टी–२० अभ्यास खेल खेल्यो। शृंखला २–२ ले बराबरी भयो।
नेपालले सुरुआतका दुई खेलमा हिमाञ्चल प्रदेशटोलीलाई हराएपनि पछिल्लो दुई खेलमा पराजित भएको थियो।
नेपालले हिमाञ्चललाई पहिलो खेलमा ५ विकेट र दोस्रोमा ६१ रनले हराएको थियो।अभ्यासका लागी भारत गएको २२ सदस्य टोलीबाटै क्यानले १५ सदस्यीय राष्ट्रिय टोली छनोट गरेको थियो।
स्कटल्यान्ड र आयरल्यान्डमा जुलाई ९ देखि २६ सम्म हुने विश्व ट्वान्टी–२० छनोट क्रिकेटका लागि नेपाल मंगलबार इङ्ल्यान्ड जाने कार्यक्रम रहेको कप्तान पारसले बताए। इङ्ल्यान्डमा पनि नेपालले अभ्यास खेल खेल्ने तयारी भएको छ। इङ्ल्यान्डबाट नेपालजुन ३० तारिख नेदरल्यान्ड्स जानेछ। नेपाली टोली छनोट खेल खेल्न जुलाई ५ तारिख आयरल्यान्ड पुग्ने बताइएको छ।समूह ‘ए’ मा रहेको नेपालले अमेरिका, नामिबिया, आयरल्यान्ड, हङकङ, पपुवा न्युगिनी र जर्सीसँग खेल्नेछ।
समूह ‘बी’ मा अफगानिस्तान, युएई, नेदरल्यान्ड्स, स्कटल्यान्ड, क्यानडा, केन्या र ओमान छन्। आयरल्यान्डमा हुने छनोट खेलबाट १४ मध्ये शीर्ष ६ टोली अर्को चरणमा पुग्नेछ।
ट्वान्टी–२० विश्व वरीयताका नवौं र दसौं दुई राष्ट्रसहित ८ टोलीबीच विश्वकप छनोटका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ।
nagariknews.com

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्