नेपाल–दक्षिण कोरिया कला–साहित्य महोत्सव सुरु


 


काठमाडौँ, फागुन ११

राजधानीमा बुधबारदेखि नेपाल–दक्षिण कोरिया साहित्य, संस्कृति तथा कला महोत्सव सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा शुरु महोत्सवको स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरेका थिए ।

उद्घाटनपछि मन्त्री थापाले महोत्सवले दुई देशबीचको कला, साहित्य र संस्कृतिको आदानप्रदानमा कोशेढुङ्गाको काम गर्ने बताए । उनले भने, ‘दक्षिण कोरियाले छोटो समयमा गरेको समृद्धिबाट नेपालले पाठ सिक्नु पर्छ ।’ उनले कोरियाले नेपाली युवालाई सम्मानजनक रोजगारी दिइरहेको बताए ।

मन्त्री थापाले नेपाल र कोरियाका कलाकारहरुले बनाएका चित्रकला र मूर्तिकलाको अवलोकन समेत गरेका थिए । नेपाली लेखक संघ र युरासिया कल्चर फोरम, कोरियाको संयुक्त आयोजनामा भएको महोत्सवमा दुई देशका सयभन्दा बढी कलाकारका कलाहरु प्रदर्शनीमा राखिएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले कोरियाले विश्वलाई विकास, निर्माण र समृद्धिको नमूना कार्य गरेर देखाएको उल्लेख गर्दै कोरिया साहित्य, कला र संस्कृतिको पनि उत्तिकै धनी रहेको उल्लेख गरे । उनले थपे, ‘कोरियाबाट हामीले ग्रहण गर्नुपर्ने कुराहरू धेरै छन् ।’

नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङले संघले आफ्नो ६५ वर्षे इतिहासमै पहिलो पटक दक्षिण कोरियासँग मिलेर यस प्रकारको ऐतिहासिक महोत्सव आयोजना गर्न सफल भएको बताए । उनले भने, ‘साहित्य, कला र संस्कृतिले मानिसलाई एकअर्काको बीचमा सम्पर्क स्थापित गर्नका लागि एउटा प्रभावकारी माध्यमको काम गर्ने रहेछ भन्ने कुरा आज पुष्टि भएको छ ।’

युरेसिया कल्चर फोरमका अध्यक्ष हङ थे सिकले नेपालको कला र संस्कृतिप्रति आफूहरुको अगाध सम्मान रहेको बताउँदै नेपाली साहित्यिक संस्थासँगको सहकार्यमा यस्तो महत्वपूर्ण कार्यक्रम गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए । कार्यक्रममा फोरमका महासचिव दाइ की जुङले यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन नेपालका विविध जातजातिका सांस्कृतिक तथा झाँकी देखाइएको थियो । यसका साथै दुवै देशका तर्फबाट भाषा–साहित्य, कला, संस्कृति र समाजशास्त्रसम्बन्धी चार–चार वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

महोत्सवको दोस्रो दिन बिहीबार दुवै मुलुकका २५ भन्दा बढी कविहरुले कविता वाचन गर्नेछन् भने केही नेपाली गजलकारले गजल समेत प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस्तै, अन्तिम दिन नेपाली र कोरियाली चित्रकार तथा मूर्तिकारका चित्रकला, मूर्तिकलाको प्रदर्शनी तथा कलाबारे छलफल र विमर्श गरिनेछ । महोत्सवमा युरासिया कोरियाका तर्फबाट ६० भन्दा बढी साहित्यकार, कलाकर्मी र संस्कृतिकर्मीको सहभागिता छ ।

संघका महासचिव रत्नमणि नेपालले यस कार्यक्रमबाट नेपाली भाषा–साहित्य, कला र संस्कृतिको विदेशसम्म प्रचार–प्रसार हुने उल्लेख गरे ।

सचिव घनेन्द्र ओझाका अनुसार उनका अनुसार कार्यक्रममा दुई दर्जनभन्दा बढी ग्रामीण भेगका विपन्न नेपाली विद्यार्थीलाई युरेसिया कल्चर फोरमले छात्रवृत्ति पनि प्रदान गरेको छ । उद्घाटन कार्यक्रममा नेपाल र दक्षिण कोरियाका विभिन्न लोकनृत्यहरू प्रस्तुत गरिएका थिए ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्