दश हजार स्वयम् सेवकलाई एमालेले तालिम दिने



काठमाडौं, फागुन १५

आगामी २१ फागुनदेखि नेकपा एमालेले शुरु गर्न लागेको मेची–महाकाली अभियानमा दश हजार स्वयमसेवक परिचालन गर्ने जनाएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको सचिवालय बैठकले स्वयमसेवकका लागि आवश्यक तालिम र प्रशिक्षण दिने निर्णय गरेको छ।

अभियानलाई व्यवस्थित र सुरक्षित राख्न तालिम दिन लागेको एमालेले जनाएको छ। बैठकले अहिलेसम्म भएको तयारीबारे समेत समिक्षा गरेको छ। प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सात वटै प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र र मातहतका कमिटीसहित सवै जनसंगठनको बैठक बसेको छ। यी बैठकहरुले अभियानको तयारीबारे छलफल गरेको उनले बताए।

अभियानबारे घरदैलो कार्यक्रम, पर्चा तथा अपिल वितरण, प्रचार र खानेबस्नेबारे समेत तयारी भइरहेको बैठकमा समिक्षा भएको छ। अभियानमा परिचालित हुनेहरुका लागि पार्टीका शुभचिन्तक र नेताहरुको घरमा राख्ने तयारी एमालेले गरेको छ। स्वयमसेवक, स्वस्थ्यकर्मी, कलाकार र सञ्चारकर्मीको टोली समेत अभियानमा स्थायी रुपमा खटाइने भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हुने अभियानमा सामेल हुने बरिष्ठ नेताहरु, सांसददेखि जिल्ला तहका नेताहरु समेतगरी एक हजारको स्थायी टोली हुने सचिवालय बैठकले अनुमान गरेको छ। संविधान कार्यान्वयनमा दबाव दिन र ओली नेतृत्वको सरकारले ल्याएको कार्यक्रमको प्रचार गर्न भन्दै एमालेले मेचीदेखि महाकालीसम्म अभियानको आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News