फ्री भिसा असार २१ देखि


 


काठमाडौ, असार ८

श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडी मुलुकको लागि ‘फ्री भिसा र टिकट’ को निर्णय असार २१ देखि लागू गर्ने भएको छ । मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सोही दिनदेखि फ्री भिसा र टिकट उल्लेख भएका मागपत्रलाई मात्र पूर्वस्वीकृत दिनेछ । सोही स्वीकृतिका आधारमा म्यानपावर व्यवसायीले कामदार भर्ना गरी विभागबाट अन्तिम स्वीकृत लिएर नि:शुल्क रूपमा पठाउनु पर्नेछ ।

कानुन मन्त्रालयले राजपत्रमा सूचना निकाल्न नपर्ने भनेपछि श्रम मन्त्रालयले सूचना निकालेर असार २१ देखि निर्णय लागू गर्ने भएको श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार केशवराज जोशीले बताए । श्रम राज्यमन्त्री स्तरीय जेठ २६ गतेको निर्णयअनुसार मलेसिया र खाडीका कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमन र कुवेत जाने कामदारलाई भिसा र दुई–दुई हवाई टिकट नि:शुल्क हुने निर्णय गरेको थियो ।

‘फ्री भिसा, फ्री टिकट’ को व्यवस्थाअनुसार कामदारलाई आतेजाते हवाई टिकट र भिसाबापत् लाग्ने खर्च रोजगारदाता कम्पनीले व्योहोर्नुपर्छ, कसैले पनि कामदारसँग त्यसको खर्च उठाउन पाउँदैन । निर्णय लागू भएपछि श्रम मन्त्रालयले ०६० वैशाख २४ गते मलेसियालाई ८० हजार, खाडीका मुलुकलाई ७० हजार रुपैयाँ लागत शुल्क खारेज हुनेछ । कतारमा नि:शुल्क टिकट र हवाई शुल्क कानुनमै उल्लेख भएपछि ०६२ देखि सरकारले कतारलाई २० हजार रुपैयाँ लागत शुल्क तोकेको थियो ।

नयाँ व्यवस्थाअनुसार रोजगारीमा जाने कामदारले बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, कल्याणकारी कोषको रकम भने आफैं तिर्नुपर्नेछ । यसका लागि करिब ८ हजार रुपैयाँ खर्च हुन्छ । निर्णयमा रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई कमिसन शुल्क नदिएको प्रमाणित भए कामदारसँग १० हजार रुपैयाँ सेवा शुल्क भनेर लिन सक्ने र त्यसको रसिद दिनुपर्ने भनिएको छ ।

ekantipur

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्