सिक्किमका शर्माको कृतिमाथि काठमाडौँमा परिचर्चा


 


काठमाडौं, फागुन १६

भारतीय नेपाली साहित्यमा क्रियाशील युवा समालोचक रूपेश शर्माको समालोचनात्मककृति ‘सिर्जना र दृष्टि’माथि सोमबार परिचर्चा गरियो । अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा माक्र्सवादी सौन्दर्यशास्त्री निनु चापागाईं, प्रा.डा. ताराकान्त पाण्डेय र प्राज्ञ डा. अमर गिरीले समीक्षात्मक टिप्पणी गरे ।

‘मैले पुस्तकको अध्ययन गर्ने क्रममा रूपेश शर्मामा प्रखर आलोचनात्मक विवेक, सशक्त विश्लेषण क्षमता, मूल्यनिर्णयमा पुग्ने दृष्टि देखेँ । उनी आधारभूत रूपमा माक्र्सवादी सौन्दर्यशास्त्रद्वारा अनुप्राणित एक सफल समालोचक हुन्’, चापागाईंले टिप्पणी गरे ।

आयोजकले ब्यानरमा ‘नवोदित’ शब्द प्रयोग गरेकोमा उनले विमति जनाए, ‘उनी माझिएका, सुस्पष्ट र प्रखर समालोचक हुन्, नवोदित होइनन् ।’ शर्माको लेखनपद्धति, विश्लेषणको तरिका र तार्किक क्षमताको उनले सराहना गरे ।

प्रा. डा. ताराकान्त पाण्डेयले ‘सिर्जना र दृष्टि’ एक माझिएका समालोचकबाट सिर्जना भएको बलशाली कृति भएको बताए, ‘इन्द्रबहादुर राईमाथिको शर्माको आलोचनादृष्टि गम्भीर र महत्वपूर्ण छ । स्रष्टाहरू समसामयिक जीवन र समाजबाट पृथक् रहन सक्दैनन्’, उनको सङ्केत लीलालेखनतर्फ थियो ।

शर्माका लेखनमा मूलधारको साहित्यमा रहेको भाषिक आस्वाद पाएको भन्दै उनले सबै समालोचना अनुसन्धानमुखी र गहन रहेको धारणा राखे ।

कृतिमाथि थप चर्चा गर्दै प्राज्ञ डा. अमर गिरीले भने, ‘समालोचकीय दृष्टिले शर्मा माझिएका र सक्षम समालोचक हुन् । उनको भाषामा भिन्नै स्वाद छ । उनी बौद्धिक, प्राज्ञिक र प्रखर समालोचक दरिन पुगेका छन् ।’ कृतिले समकालीन भारतीय नेपाली साहित्यको स्थितिबोधमा सघाउ पुग्ने गिरीले बताए ।

कार्यक्रममा आफ्नो विचार राख्दै कृतिकार शर्माले आफ्नो लेखनको ध्येय साहित्यमा समाज खोज्नु रहेको बताए । उनले भने, ‘भारतीय नेपाली साहित्यमा एउटा ठूलो बौद्धिक तप्का सधैँ राजनीतिदेखि दूरण् बस्छ । त्यसले गर्दा जातीय मुक्ति सङ्घर्ष र आन्दोलनहरूमा राजनैतिक नेतृत्व र बौद्धिक समुदायबीच एउटा दूरी रहँदै आएको छ ।’ उनले सुवास घिसिङदेखि विमल गुरुङसम्मको बौद्धिक तप्कालाई हेर्ने दृष्टिकाेणतर्फ इङ्गित गरे ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले ‘भारत र नेपालका नेपाली साहित्यकारहरूबीच वैचारिक एवं सिर्जनात्मक आदान–प्रदानले व्यापकता पाओस् भन्ने उद्देश्यले शर्माको कृति चर्चा कार्यक्रम राखेको’ बताए । प्रतिष्ठानका सदस्यसचिव हीरामणि दुःखीले पनि कृतिमाथि बोलेका थिए ।

भारतको पश्चिम बङ्गालको डुवर्स स्थायी घर भएका शर्मा पेशाले पत्रकार हुन् । उनी सिक्किमको गान्तोकमा बस्छन् । उनले बितेको दुई दशकदेखि समालोचना विधामा कलम चलाउँदै आएका छन्। तर, कृति प्रकाशन भने उनको यो पहिलो हो ।

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्