यसरी लेखियो ‘क्रान्तिवीरको सपना’ – प्रदीप नेपाल



– प्रदीप नेपाल

यो एउटा ऐतिहासिक तथा क्रान्तिकारी चरित्रको जीवन ओरिपरि घुमेको उपन्यास हो । यसभित्र समेटिएको क्रान्तिकारिता र यसको ऐतिहासिकता मेरा मनका उपज होइनन् ।

यो नेपाली इतिहासको एउटा त्यस्तो महत्वपूर्ण काल हो जतिबेला जय, पराजयमा रूपान्तरित भयो । जहाँ स्वाभिमान, परनिर्भरतामा फेरियो । तर इतिहासको यो कालो पाटोलाई सुनले बेरेर सुन्दर बनाइयो । नेताहरूमा त इमान रहेन नै ।

इतिहासकारहरूले पनि सत्यलाई ढाकछोप गर्ने र असत्यको पूजा गर्ने काम गरे । पछिल्लो समयमा धेरै दस्तावेजबाट पुष्टी भएको यो सत्य आत्मसात गरेपछि मैले उपन्यासमा हात हालेको हुँ । यो मेरो कल्पनाको सिर्जना होइन ।

ऐतिहासिक, राजनैतिक जस्तो भए पनि उपन्यास लेख्न कल्पनाको आड लिनुपर्छ । मैले त्यही आधारमा कल्पनाको आड लिएको छु । तर ज्ञानको इतिहासलाई मैले यो उपन्यासमा संयोजन गर्ने काम गरेको छु ।

यो कृतिको सिर्जनामा मलाई झकझक्याउने पहिलो व्यक्तिको नाम हो— तारादेवी राई । तारा राईले एकदिन मसित भनिन्, ‘काका, हजुरबाको एउटा कथा लेखिदिनुस् न । तपाईंको कलम चल्छ । हाम्रो चल्दैन ।’

‘को हजुरबा ?’

‘रामप्रसाद राई ।’

‘छोरी, रामप्रसाद राई बारे मसित सीमित ज्ञान छ । व्यक्तिसँग जोडिएको कथा लेख्न, व्यक्ति मात्रै होइन, परिवेशको पनि राम्रो ज्ञान हुनुपर्छ । यस्तै इतिहाससँग जोडिएको कथा पनि इतिहासको घटनासँग जोडिएको हुनुपर्छ ।

उपन्यासमा तिथि मिति मिल्नु पर्छ भन्ने छैन । तर स्वैरकल्पनाको जति गहिराईमा जेलिए पनि ऐतिहासिक उपन्यासले घटना प्रति न्याय गर्नु पर्छ । त्यसैले छोरी मेरा लागि यो निकै कठिन काम हो । धेरै सामग्री बटुल्नु पर्छ । र पनि म कोशिश गरौंला ।’

पारुहाङ राई । तारा राईको भाइ ।

‘काका हामीसित केही किताब छन् । त्यो म काकालाई उपलब्ध गराउँछु ।’ पारुहाङसँग डा. गोविन्दमानसिंह कार्की र जय शिवाहाङका शोधग्रन्थ रहेछन् । मैले दुबै पुस्तक पढेँ ।

ती दुबै पुस्तकका निष्कर्षहरू मैले सुनेको र पढेको इतिहास भन्दा झण्डै झण्डै उल्टा थिए । मलाई कथा लेख्न झन अप्ठ्यारो प¥यो । पुस्तकहरू पढेपछि जुन सत्य मैले बुझेको थिएँ त्यो सम्पूर्णतामै पुरानो सत्यलाई काट्ने खालको थियो र कतिपय सन्दर्भमा त पत्याउनै नसक्ने गरी उल्टो थियो ।

मेरो सनातनी मन, भ्रामक भए पनि पुरानो सत्यलाई काट्न गाह्रो मानिरहेको थियो । तर त्यो पुरानो सत्यलाई नकाटी मैले कथा लेख्न मिल्दैनथ्यो । आफ्नो सनातनी मनलाई मैले मारेँ र सधैँ जसरी, सत्य पछ्याउने निर्णय गरेँ । यही सत्यको उद्घाटन हो ‘क्रान्तिवीरको सपना’ ।

इतिहासले तिथिमिति खोज्छ । आख्यानले तिथिमितिको हिसाब गर्न जान्दैन । तर आख्यानले पनि इतिहासलाई जथाभावी प्रस्तुत गर्न पाउँदैन । घटनाका पात्रहरूसँग खेल्न सक्छ आख्यान । तर भएकोलाई नभएको अनि नभएकोलाई भएको बनाउने अधिकार आख्यानलाई दिन सकिँदैन ।

मैले पहिले छोटो कथा लेखेँ । त्यो मेरो सनातनी दिमागको उपज थियो । त्यसैले त्यो महत्वहीन भयो । दोश्रो कथा लेखें । तर त्यसले पनि आफूलाई सन्तुष्टी दिन सकेन । कुरूप र भद्दा उपदेश जस्तो लाग्यो ।

किनभने दोश्रो कथामा कथाकार उपदेशक भएको थियो धेरै ठाउँमा । मैले कम्प्युटर उघारेँ । तर अहँ मैले कम्प्युटरका पर्दामा अक्षर उतार्न सकिन ।

ठूलो, लामो र भव्य उपन्यासको लोभ थिएन मसँग । ठिक ठिकै आकारको बनोस उपन्यास, तर लेखनीले रामप्रसाद राई, उहाँ बाँचेको समाज र उहाँले देखेको सपनालाई आख्यानीकरण गरोस् भन्ने मेरो चाहना थियो । काठमाडाँैको गन्जागोलमा त्यो सम्भव भएन ।

दशैँको छुट्टीमा मैले काठमाडौंबाट बाहिर निस्किएर रामप्रसाद राईलाई आख्यानमा उतार्ने सोच बनाएँ । झापाको भाङबारी मेरा लागि उपयुक्त स्थान थियो ।

गाउँको पश्चिमतिर, सामुदायिक बनको स्वामित्वमा रहेको बाक्लो चुरेको जङ्गल, चुरेको सबैभन्दा अग्लो डाँडामा, मैले देखेदेखि एक्लै ठिङ्ग उभिएको अजङ्गको रुख, घरको छेवैमा सधैंभरि चिसो पानी बोकेर बगिरहने टाङटिङ–बिरिङ खोलाको बगरमा आँखाले भ्याएसम्मको क्षेत्रमा बुढो मान्छेको दाह्री जस्तो सेतो काँसघारी, दक्षिणतिर अनन्तसम्म हरियालीमा रमाएर खेलिरहेका खेतका गराहरू ।

उत्तरतिर खेतको बीच बीचमा उभिएका साना ठूला रुखहरू, खेतको शृङ्खला सकिएपछि आउने चाक्लो जङ्गल, पूर्वतिर उत्तर–दक्षिण पैmलिएर उभिएको लामो बाँसघाारी । त्यहाँ झुक्किएर आइपुग्ने मानिस । तराईको सपाट मैदानी भूभागमा पनि बिहानीको शीतल सौम्य र शान्त वातावरण ।

बिहानदेखि बेलुकासम्म चिसान मिसिएको वायुमण्डल !

मैले भाङबारीमा बसेर क्रान्तिवीरको सपनालाई टुङ्ग्याउने सोच बनाएँ ।

इतिहासले लामो समयसम्म अन्याय गरेको एउटा इतिहास पुरुषलाई मेरो एउटा आख्यानले न्याय दिन्छ भन्ने ठाडो दाबी त म गर्दिन । तर अहिलेसम्म उहाँको बारेमा जेजति कुरा लेखिएका छन् तिनको टाउकामा टेकेर उभिएको यो आख्यानले पाठकको माया पायो भने २००७ सालको ‘परिवर्तन’ को सत्य खुल्छ ।

त्यस्तो सत्य, जो अहिलेसम्म कुनै पनि इतिहासकारले खोल्न सकेका छैनन् या खोल्न चाहेका छैनन् । यो त्यस्तो सत्यको खोजीमा लागेको उपन्यास हो – जसले सिङ्गो नेपाल अनि त्यसमा बसेका प्रजातन्त्र र राष्ट्रियताका तिर्खामा पानी खोजिरहेका नेपालीलाई थोरै भए पनि ज्ञान दिन्छ ।

म चाहन्थेँ यसको अन्तिम रूप तयार गर्नु अघि एकपल्ट बासिखोरा पुगौँ । रामप्रसादले खेलेको प्रकृतिसँग एकछिन रमाउँ । उहाँले दौडाएको घोडाले कहाँसम्म पु¥याएर लडाएको थियो होला ? उहाँले शिकार खेल्ने जङ्गलको अनुहार कस्तो थियो होला ? बासिखोरा बासीहरू कसरी पिखुवा खोलासँग झुत्ति खेल्दै सदरमुकाम जान्थे होलान् ।

उनीहरू कुन ठाउँबाट अरूण र तमोर जस्ता ठूला नदी तर्थे होलान् । कुन कुन गाउँको बाटोबाट उकाली ओराली गर्थे होलान् । म प्रत्यक्ष अनुभव गर्न चाहन्थें । तर यो सालको अघोर वर्षाले मेरो सपनालाई तुहाइ दियो ।

वर्षाका कारण म, यो आख्यानलाई थन्क्याएर राख्ने मानसिकतामा थिइन । जतिसक्दो चाँडो म यसलाई पाठक सामू प्रस्तुत गर्न चाहन्थें । यस्ता प्राकृतिक बाधालाई अवरोध मान्न थालियो भने उसै पनि एउटा सिङ्गो पुस्तक कहिल्यै जन्मिन सक्दैन ।

त्यसबाहेक क्रान्तिकारी नेता रामप्रसाद राईका जीवनका सबै पाटालाई कुनै एउटा पुस्तकमा समेट्न पनि सकिँदैन । यति मात्र होइन यो आख्यान नै सम्पूर्ण र अन्तिम होइन ।

यो त आरम्भ हो । यो आरम्भले बासिखोराको गीत बनाओस्, नाटक बनाओस, सिनेमा बनाओस् र आख्यानले खोतल्न नसकेको सत्यलाई खोतलेर सार्वजनिक गर्ने काम गरोस् ।

बहुआयामिक प्रतिभा भएका रामप्रसाद राईलाई समग्रमा चित्रण गर्न बहुविधाको लेखन आवश्यक पर्छ । त्यसैले भोजपुरका र अन्य जिल्लाका पनि कलम–योद्धाहरू समक्ष म अनुरोध गर्दछु, क्रान्ति र प्रतिक्रान्तिको गाथालाई जस्ताको तस्तै पाठकसामू प्रस्तुत गर्न सबै एक जुट भएर लागौं ।

मुलुक गणतन्त्र घोषित गरिए पनि रामप्रसाद राईले देखेको क्रान्तिको सपना अहिलेसम्म पुरा भएको छैन । ००७ सालदेखि नै राजा, नेता र पार्टीबाट जनता ढाँटिदै आएका छन् । ठगिँदै आएका छन् ।

सत्यको उद्घाटन गर्ने यो दायित्व अब राजनीतिबाट कलमजीविको हातमा आएको छ । किनभने रामप्रसाद राईको पछिल्लो निष्कर्षमा अहिले पनि हाम्रो देश, हाम्रो राजनीति रुमल्लिई रहेको छ । नेहरू, त्रिभुवन, मोहन शमशेर र सि.पी.एन.सिंहका उत्तराधिकारी त हजार नाघिसकेका छन् । अब हामीले रामप्रसाद राईहरूलाई हजारौँमा रूपान्तरित गर्नुपर्छ ।

मैले माथि नै भनिसकेको छु ः मैले संयोजन मात्र गरेको हुँ । यो कृतिको जन्मदाता, तारा र पारुहाङ राईको हुट्हुटी, डा. गोविन्दबहादुर कार्की र जय शिवाहाङका शोध निबन्धहरू, रामप्रसाद राईलाई नजिकबाट चिनेका मेरा दाजु वासुदेव नेपाल र रामप्रसाद राई स्मृति प्रतिष्ठानका सकृय कार्यकर्ता रामकुमार वान्तवाद्वारा संप्रेषित ज्ञान हुन् ।

माथि उल्लेखित नामहरूको सहयोग हुँदैनथ्यो भने मैले पाएको ज्ञान पनि म भित्रै खुम्चिएर रहने थियो । एउटा आख्यानमा रामप्रसाद राई जीवन्त हुने सम्भावना थिएन ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News