भाग्यले दिने, कर्मले ठेल्ने


 


संकेत कोइराला

बेलायती रानी एलिजाबेथ प्रथम उनको समयमा एकदमै बद्नाम थिइन । उनीप्रति जनताको तीब्र असन्तुष्टि थियो । उनको नाम संझदा पनि मानिस लाजले शिर लुकाउँथे । कति त आक्रोस थाम्न नसकेर उनी चढ्ने गाडीमा ढुंगा मुढाको प्रयास गर्थे ।

रानीप्रति बढ्दो वितृष्णा त्यहाँका विद्वानहरुलाई सह्य भएन् । उनीहरुले एउटा उपाय सुझाए– ‘अब जनताको रिस झन् उत्कर्षमा पुर्याएर, फेरि तल झार्नुपर्छ ।’ यसका लागि मिडिया उपयोग गर्ने निधो भयो ।

यो योजना राजतन्त्र मिल्काउने हैन, जोगाउने कडी अनुसार रचिएको थियो । त्यही योजना अनुसार रानी विरुद्ध पत्रपत्रिकामा श्रृंखलावद्ध प्रायोजित आक्रमण हुन थाल्यो ।

तिनै विद्वानहरुले आफ्नै कलमबाट रानी विरुद्ध कटाक्ष गर्न थाले । कसैले यस्ती रानी स्वीकार्नु बेलायती जनताको दुर्भाग्य भनेर टिप्पणी गरे । कोही लेख्थे– ‘पृथ्वीलाई भार यस्ता जन्मनु भन्दा नजन्मिएकै भए मुलुकलाई भलो हुन्थ्यो ।’

मिडियाले साथ दिएको भनेर जनता मख्ख पर्दै गए । रानी विरुद्धका लेख छापिने रफ्तार चलिरहेकै थियो । लेखाईकै उत्कर्षमा एक विद्वानले एलिजावेथलाई वेश्यासंग तुलना गरेर टिप्पणी छापिदिए । यो लेख बजारमा आएपछि खोलो उल्टो बग्न थाल्यो ।

रानीलाई वेश्याको कोटिमा राखेको सर्वसाधारणलाई पटक्कै चित्त बुझेन । यो प्रकरणपछि रानीको छायाँ पनि नरुचाउनेहरु भन्न थाले– ‘जतिसुकै नालायक भएपनि रानीलाई बेश्या भन्नु चाहिँ घोर अन्याय हो ।’ त्यसपछि रानी विरुद्ध खनिनेहरु लेखकको खोजी गर्न थाले ।

लेख्ने क्रम अझै रोकिएन । लेखकहरु रानीप्रति थप तीतो ओकल्दै थिए । अन्ततः एक, दुई गर्दै अधिकांश बेलायतीहरु रानीको पक्षमा सडकमै उत्रिए । रानीमाथि भएको अत्याचारको डटेर मुकाविला गर्ने संकल्प गरे ।

रानीलाई राष्ट्रियताको प्रतिक बनाएर प्रचार गरे । यता आफ्नाे योजना सफल भएकोमा विद्वानहरु मख्ख थिए । केही समय यताको विश्व राजनीतिको पात्रोलाई अराजनीतिक घटनाक्रमले खिचेको छ ।

९० वर्ष नाघेका नेल्सन मण्डेला थलिँदा संसारका मानिसले उनलाई थप आयु मागेर जयजयकार गरेका छन् । बेलायतमा महारानी हुँदाहुँदै त्यहाँको राजघरानामा चौथो पुस्ताको पदार्पण भएको छ ।

सन्तान त कसका जन्मिएका छैनन र ? तर नवयुवराजको जन्मसंगै त्यहाँको अर्थतन्त्र थप सकारात्मक बनेको आंकलन अर्थ पण्डितहरुले गर्न थालेका छन् ।

सम्भवतः लोकतन्त्रको सामर्थ्य भनेकै यही हो । एलिजावेथ प्रथमदेखि द्वितीयसम्म आउँदा बेलायतको टेम्स नदीमा धेरै पानी बगिसक्यो । तर पनि लोकतन्त्रको मूल्य र मान्यतामा अलिकति पनि आँच आएको छैन् ।

हिन्दी सिनेमाकी चर्चित भएर गुमनाम बनेकी नायिका ममता कुलकर्णी १२ वर्षपछि भिक्षुणी भेषमा प्रकट भएकी छन् । उनी भन्छिन्– ‘ईश्वरका लागि जन्मिएकी मैले ऐना नहेरेको १२ वर्ष भयो ।’

सन्दर्भ यतिमै टुँगिदैन । सिनेमा खेल्न पाउने आसमा बाउ समानको छवि ओझासंग घरजम गरेकी रेखा थापा राजनीतिक ग्ल्यामरको खेती गर्न माओवादीमा हाम फालिन् । सोचेजस्तो जस्तो घिउ नलागेपछि अन्तिममा पिपलसंग विवाह गरेर थकित मनलाई सान्त्वना दिने असफल प्रयासमा जुटेकी छन् ।

राजनीतिका सवै शिष्टता विर्सिएर मत पेटिका फुटाउने अभियान थालेको मोहन वैद्यको पार्टी पूर्व राजा ज्ञानेन्द्रको रक्षा कवच भएर उभिएको छ । प्रचण्ड छानीछानी राजाका मानिसलाई शक्ति केन्द्रमा पु¥याउँदैछन् ।

कहिल्यै सम्भव नहुने भीर र भैंसीको मिलन वैद्य र कमल थापाबीच देखिएको छ । यो त्यही देश हो– बाउले गद्दीको आयतन चिन्न नपाउँदै छोराले राजगद्दी भ्याइसकेका थिए ।

आफूभन्दा अगाडि छोरो ज्ञानेन्द्र राजा हुन्छ भन्ने चाल पाएको भए मूल परेको भनेर महेन्द्रले छोरालाई अर्कैको हात पाल्न पठाउँथे होलान् । अघिल्ला पुस्ताका नेताहरु बीपी, गणेशमान, मनमोहनले पनि प्रकाशजस्तै चम्किलो सन्तान हुन् भनेर आफ्ना छोराहरुको नाम प्रकाश राखे । तर ती प्रकाशहरु आफू त परै जाओस, ब्याट्री हाल्दा पनि चम्कन सकेनन् ।

प्रकारान्तरले एउटै नर्सरीका विरुवा बनेका ज्ञानेन्द्र र प्रचण्डले पनि छोराहरु प्रकाश र पारस भएको देख्न खोजे । तर तिनीहरु जन्मदाताकै लागि आगोको लप्का सावित भए ।

भाग्यले दिने कर्मले ठेल्ने नियतिले यी दुवैको जीवनमा नपुरिने भ्वाङ परेको छ । जुन लाभाले ज्ञानेन्द्रलाई खायो, अब त्यही लाभाले प्रचण्डलाई सिध्याउने दिन नजिकिदैछ ।

धरहराभन्दा ठूलो घर नबनेपछि निसन्देह धरहरा नै अग्लो ठहर्छ । कोही रिसाउने र खुसाउनेको मापदण्डलाई नाघेर साँचो बोल्ने हो भने अब देश पुनः राजतन्त्र व्यूँताउने कुटिल खेलमा प्रवेश गरिसकेको छ ।

नेताहरुको एकपछि अर्को अपारदर्शी छिमेक भ्रमण त्यही खेलको विजारोपण र त्यसलाई चम्मर हल्लाउने अभ्यासको पूर्वाद्ध भनियो भने कानुनी हिसावले वेठिक भएपनि व्यावहारिक प्रक्षेपण सही ठहर्ने अवस्था छ ।

गणतन्त्रको गलगाँडले कसैलाई उठी सुख न बसी सुख बनायो । मन परेकालाई टुँडिखेल दान दिँदा पनि क्षम्य हुने र मन नपरेकालाई रक्तदान गर्दा पनि कानुनको त्रास देखाएर मच्चिने बेसोमती अभ्यास भए ।

कारावास जीवन काटिरहेको एउटा कैदीलाई सजाय स्वरुप दुईवटा विकल्प दिइएछ । एउटा सिर्कनो अर्को खुर्सानी । खुर्सानीले राल सिंगान भएपछि उसलाई सिर्कनो प्यारो लाग्दो रहेछ ।

सिर्कनोले छरछरी रगत आएर पीडा भएपछि भन्दो रहेछ– ‘यो भन्दा त खुर्सानी नै जाति ।’ नेपालको राजनीतिमा ज्ञानेन्द्र सिर्कनो र प्रचण्ड खुर्सानी सावित भएका छन् । प्रकारान्तरमा फेरि सिर्कनोको पालो आएको भान पर्न थालेको छ ।

त्यही बेलायत हो, जहाँ चिहानमा गाडिएको राजाको कंकाललाई निकालेर मुकुट पहि¥याइएको छ भने अस्थिपञ्जर खोस्रिएर सुलीमा चढाइएको इतिहास पनि छ । आखिर प्रजातन्त्रको जननीलाई सक्कल बम्मोजिम नक्कलमा उतार्ने बानी परेका हामीलाई यो दृश्य पनि कति नै नौलो लागिहाल्ला र ?

त्यसै भनिएको होइन– अति सर्वत्र बर्जयते । अति सुन्दरी हुँदा सीता हरिनु पुर्याे । घमण्डले खस्रे भ्यागुतोजस्तो फुल्दा रावण नासिनु पर्याे । अति दानी हुँदा कर्ण काटिनु पर्याे ।

अति बलशाली हुँदा हनुमानले आफ्नाे शक्ति अरुबाट थाहा पाउनुपर्ने अवस्था आइलाग्यो । बाटो मलामीको पनि हो । जन्तीको पनि हो । तर त्यही बाटोको लालपुर्जा बाँड्ने अधम र अपराधी खेलमा हाम्रा राजनीतिक दलहरु लाग्नु नीच मानसिकताको उपज हो ।

एउटा भुस्याहा कुकुरको अधिकारका विषयलाई लिएर विश्वव्यापी बहस भइरहेको यो समयमा पूर्वराजालाई छेकारो काट्ने खेल असभ्यताको पराकाष्टा हो । अझ यो हुतिहाराहरुले देखाउने ब्वाँसो प्रवृत्ति हो ।

आँसु बगाउन लायक प्रजातन्त्र यहाँ कहिल्यै आएन । कोही सत्तामा जानु नजानु प्रजातन्त्रको परिचय होइन । प्रजातन्त्र भनेको त कर्णालीको मानिसले आफ्नाे स्याउ सहजसंग झापामा बेचेर त्यहाँबाट चामल लिएर फर्कनु चाहिँ हो । अर्थात अवसर नै प्रजातन्त्रको सर्त हो ।

चन्द्रशम्शेरले खाने गरेको काली मार्सीको आख्यानको बदला कुहेका चामलको सौदा गरेर त्यही चामलबाट बनेको रक्सी ख्वाएर स्वास्नी भकुराउने अनि नारी मुक्तिको आवाज चर्काउने राज्यको कर्तव्य होइन । राज्य भनेको समाधान हो ।

सवैलाई थाहा छ– ‘दुख र आगोले समान पोल्छ ।’ राज्यले जनतालाई दिने भनेको बाटो, बत्ती, पानी र शिक्षा हो । यति भएपछि उनीहरु जीवनको लक्ष्मणरेखा आफैं कोर्न सक्छन् ।

राजनीतिका नाममा चिनी गुलियो र खुर्सानी पिरो भन्ने बेतुकका फन्टुस गफमा थुप्रै समय वितेको छ । पद भनेको त सिंहमाथिको सवार हो । हामीले ज्ञान हैन, सूचनालाई जीवनपथ बनायौं । गुरु हैन, शिक्षकलाई सर्वैसर्वा ठान्यौं । ज्ञान गुरुले बाँड्ने हो । शिक्षकले दिने त सूचना मात्र हो ।

नयाँ पुस्ता कम्प्युटरको पेन्टियम सेभेन संस्करण हो । तर पेन्टियम वानमा समेत आफूलाई अपडेट नगरेका नेता र शिक्षक देशको भाग्यनिर्माता भएका छन् ।

बीपीले ०१५ सालमा कल्पना गरेको सानो झुप्रो, ओखती उपचार र गाई पालन भनेको अहिलेको ल्यापटप हो । समयअनुसार मान्यता फेरिन्छ भन्ने तथ्य नेतृत्वले बुझ्न आवश्यक छ ।

अत्यन्त वृद्ध भइसक्दा पनि महाराज यायातिले कान्छो छोरा पुरुको जवानी पैंचो लिएर कामवासनामा लिप्त रहेको तर तृप्त नभएको कथा महाभारतमा उल्लेख छ । हाम्रो नेतापुस्ता पनि तिनै पात्रजस्ता लोभी भएका छन् ।

माओत्सेतुङ लाई काँधमा बोकेको माओवादी बीपी कोइरालालाई राष्ट्रिय विभूति बनाउने एजेण्डा ल्याउँछ । तर उनी हरेक विषयमा किन अब्बल थिए ? जब सन्तान सुखबाट मानिस अभिप्रेरित हुँदैन, त्यसले राजनीतिमा जुन बादको कुरा गरेपनि त्यो कुतर्क ठहर्ने पक्का छ ।

जेलमा बस्दा पनि उन आफूलाई सन्तान सुखको कुन कोटीमा राखेका थिए भन्ने उनैले लेखेको यो प्रसंगबाट स्पष्ट हुन्छ– ‘सुशीलाको स्वास्थ्य राम्रो रहेछ– अलिक पहिलेको भन्दा उन्नति गरेको । प्रकाश हृष्टपुष्ट रहेछ । श्रीहर्षलाई भर्खरै ठेउला आएकाले दुब्लो थिए ।

शशांकलाई पनि अत्यन्त दुब्लो पाएँ । चेतना पनि दुब्ली । तर सवै प्रसन्न थिए । शशांकले ट्विस्ट नाचेर देखायो र आजकलका ठिटीहरुले नयाँसडकमा हिँडेको भाउ देखाएर हामी सवैलाई मनोरंजन गर्याे ।

श्रीहर्षले सिलोन रेडियोको नक्कल गरेर एउटा विज्ञापनको गाना गायो । मैले उनीहरुलाई चकलेट दिएँ । शशांकले जेनेरलदेखि अरु सवै अफिसरहरुलाई पनि बाँड्यो चाकलेट । म बडो प्रसन्न भएँ ।’

सत्य भनेको इच्छा हो । आग्रह भए ठाउमा सत्य आउँदैन । जिब्रोभरि नून लिएर तिहुन चाख्न तम्सिनेहरुको साम्राज्यले सर्वत्र गिजोलिएको छ । सिंहदरवारदेखि आर्यघाटसम्म दलाली छ ।

मानिसहरु भन्छन–नेपालमा सुन महँगो छ । तर हैन, सुनभन्दा कानुन, शिक्षा र स्वास्थ्य महँगो छ । माखामुन्द्रो बेचेर अदालत, स्कुल र अस्पताल धाउने मानिसको संख्या लेखो लाएर साध्य छैन् ।

नागरिकका लागि राज्यले आधारभूत रुपमा उपलब्ध गराउनुपर्ने विषय नै दलालीका भरपर्दो साधन भएका छन् । नगरपालिकाले आफैले आफैलाई धान्न नसकेको देशमा संघीयता नामको चरीले आतंक मच्चाएको छ । युरोपियन युनियन भएर एउटै मुद्रा एउटै कानुन चलाउने देशहरु नेपालमा संघीयता र धर्मको खेतीपाती चलाइरहेका छन् ।

वाल्मीकि, चाणक्य, बेदव्यास, कालिदासजस्ता कालजयी सम्पदा बोकेका हामी सभ्यताको नाममा प्लुटो, एरिस्टोटल, माल्थसतिर किन लहस्सिनु पर्याे र ? संसार एकाकार भएर अघि बढेका बेला घरखेत किन बाँड्नु पर्याे ।

लेखकबाट थप

दारु र भारुविनाको राजनीति के राजनीति ?

कागज चिन्ने, काम नचिन्ने काइदा

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्