दुबै मिर्गौला फेल भएपछि…


 


श्यामकृष्ण दाहाल
२०७१ सालको असोज मध्यतिर अचानक ब्लड प्रेसर बढ्यो । कन्ट्रोल नभएपछि विराटनगर नर्सिङ्ग होममा जाँच गर्दा मिर्गौला समस्या भएको थाहा पाएँ । हट्टाकट्टा नै थिएँ, पहिले पेट दुखेको पनि थिएन, त्यसैले धेरै समस्या होला भन्ने त दश मनमा एक मन पनि थिएन ।

काठमाडौं आएर जचाएँ । मिर्गौलामा समस्या धेरै देखिएको रिपोर्ट आउँदा पनि होइन होला भन्ने नै लाग्यो । थप परीक्षणका लागि दिल्लीको एम्स अस्पतालसम्म पुगें । आखिर प्रत्यारोपणको विकल्प नभएको खुल्यो । दुवै मिर्गौला फेल भएका रहेछन् ।

गरिखाने उमेरमा किड्नी फेल भएको कुरा थाहा पाउनासाथ भाउन्न भयो । के गर्ने कसो गर्ने दिमागले सोच्नै सकेन । बाउआमा, श्रीमती अनि छोराको अनुहार झल्झली सम्झिएँ । औषधि उपचार अनि प्रत्यारोपणको कुरा कसरी सल्टाउने भन्ने कुराले बढी नै पिरोल्यो ।

रोग थाहा पाउनुअघि किड्नी फेलको समस्या महँगो र जटिल हो भन्ने थाहा थियो । तर विस्तृतमा थाहा थिएन । आफैलाई नपरी के थाहा होस पनि ? कतिजनाको उपचार हुन नसकेर ज्यान गएको पनि सुनेको थिएँ ।

दिन बित्दै जाँदा साथीभाइ, आफन्तजनले खबर थाहा पाए । त्यसपछि उनीहरुको ढाडस र सान्त्वना अनि सहयोगका लागि तयार रहेको अभिव्यक्तिले आत्मबल बढ्दै गयो । परिवारको साथ सबैभन्दा ठूलो आधार थियो ।

बुवाआमा अनि श्रीमती एञ्जिलाले उपचार अवधीभर पूरै उत्साहका साथ मलाई साथ दिइन, त्यो मेरा लागि महत्वपूर्ण बन्यो । स्वास्थ्यकर्मी पनि भएकाले उपचारमा उनले हौसलामार्फत पनि मेरो मनोविज्ञानलाई उपचार गरिरहिन् ।

२०७१ असोजको २४÷२५ गतेतिर विराटनगर हुँदै शुरुमा सुमेरु अस्पतालमा आएँ । अस्पताल प्रशासन र स्वयं डाक्टरले पनि पैसामुखी व्यवहार बढी देखाए ।

कतिसम्म भने भारत नमुना परीक्षणका लागि पठाउनुपर्छ ५ दिनमा रिपोर्ट आउँछ भनेर लिएको रगतको रिपोर्ट भोलिपल्टै डिस्चार्ज फायलमा लगाईदिएका थिए । निकै नमज्जा लाग्यो ।

कात्तिकको दोश्रो सातातिर निदान अस्पताल पुल्चोकमो डाक्टर अनिल बरालसँगको पहिलो भेटबाट भने मेरो उपचार सफल हुन्छ भन्ने कुरामा आत्मविश्वास बढेर गयो । उहाँको काउन्सिलिङ्ग शैली र उपचार पद्धतीबाट प्रभावित भएँ ।

मलाई पुनर्जीवन दिन शल्यक्रियाको लागि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाक्टर पुकारचन्द्र श्रेष्ठको नेतृत्वको डाक्टरहरुको मेहनत र ५ दिन अस्पतालमा रहँदा नर्सिङ्ग स्टाफको हेरचाहले नेपालमै मिर्गौला प्रत्यारोपणको अन्तर्राष्ट्रिय स्तरकै उपचार हुने कुरामा विश्वास बढ्यो ।

प्रत्यारोपणका लागि मिर्गाैला खोज्ने कुरा निकै गाह्रो कुरा थियो । खर्चको हिसाबले पनि नेपालमै प्रत्यारोपण गर्नुपर्ने थियो । फेरि परिवार त्यसमा पनि बुबा, आमा, दाजुभाइ, दिदीबहिनीबाट भयो भने प्रत्यारोपण सफल हुने सम्भावना धेरै भएको कुरा डाक्टरले भनेका थिए ।

किड्नी दिन त बुबा, श्रीमती पनि तयार हुनुहुन्थ्यो । आमासँग ब्लड ग्रुप लगायत कुराको क्रस म्यास सफल भएकाले आमाको मिर्गौला लिने तय भयो ।

अप्रेशन सफल हुन्छ भन्ने कुरामा विश्वस्त त थिएँ, तरपनि अपरेशन कक्षमा छिर्दैगर्दा मनमा के हुने हो कसो हुने हो भन्ने डर त भइहाल्दो रहेछ । आखिर ८ घण्टा लाएर आमाको शरीरबाट एउटा किड्नी मेरोमा सार्ने अपरेशन सफल भयो । हामी सबै खुशी भयौं । आमाबाट म दोश्रोपटक जन्मिदै छु जस्तो लाग्यो ।

अहिले स्वास्थ्य अवस्था सामान्य छ । त्यस्तो खासै त परिवर्तन आएको छैन । खानपान र दैनिकी भने केही फेरिएको छ । आफूलाई बढि केयर गर्ने र संक्रमणबाट जोगिने कुरामा धेरै ध्यान दिनुपर्ने भएको छ ।

प्रत्यारोपण पश्चात शारीरिक रुपमा पहिलाकै अवस्थामा आउने भएपनि मानसिक रुपमा भने चाहिँ बेलाबेलामा केही झस्का भइरहने हुँदोरहेछ । संक्रमणबाट जोगिन खानपान, हिँडडुल असहज हुनाले साथीभाइसँग र घरवाहिर त्यति समय दिन नसकिने ।

नियमित औषधि सेवन र डाक्टरको फलोअपमा छु । बिहान उठेर आधा घण्टाजति मर्निङ्ग वाक गर्छु, अरु दैनिकी त नियमित उस्तै छु । महिनामा झण्डै २ साता त जाँच, औषधि, डाक्टर भेटमा बित्छ ।

यो रोगको उपचारमा आर्थिक भार बढी हुने भएको साथै प्रत्यारोपण पछिपनि जिन्दगीभर फलोअप र औषधि गरी मासिक १५ देखि २० हजार खर्च हुने भएकाले त्यो रकम जुटाउन निकै नै समस्या पर्ने हुन्छ । कहिँ कतै मिर्गौला बिरामीको क्षमतामा प्रश्न उठाउँदा दुःख लाग्छ । तर मेरो आफ्नो आत्मबलमा भने कुनै कमी छैन ।

मेरो उपचारदेखिको सहयोगका लागि पत्रकारसँग आवद्ध संघ संगठनदेखि लिएर साथीभाइ, आफन्त सबैले पहल गर्नुभएको छ । मेरो १४ वर्षको पत्रकारिताको अनुभवले पैसा नकमाए पनि शुभचिन्तक निकै कमाएको महशुस भएको छ ।

आगामी दिनमा पनि मेरा सुखदुःखमा यस्तै साथ पाउने अपेक्षा गरेको छु । आफ्नो जिन्दगीको गुनासो गर्नु भनेको जीवनदेखि नै हरेस खानु हो । यसरी झन जिन्दगी चलाउनै सकिन्न ।

रोग सबैलाई लाग्छ । अलि गरिखाने उमेरमा एक्कासी ठूलो रोग लागेकाले गुनासो हो । आगामी दिनको दैनिकीलाई सहज र सरल बनाउँदै जीवन यापन गर्दै जाने हो । अजम्बर कोही छैन । जति सकिन्छ आफूले अर्कालाई राम्रो गर्न नसके पनि नराम्रो भने नगर्ने ।

 (विश्व मिर्गौला दिवसको अवसरमा पत्रकार दाहालले यसबिचमा भोगेको दैनिकीको आधारमा)

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्