गाेविन्द गाैतमकाे हत्याकाे विराेधमा त्रिनगर सीमा नाकामा प्रदर्शन


 


धनगढी, फागुन २७

कञ्चनपुरमा बिहीबार भारतीय सुरक्षा अधिकारीले चलाएको गोली लागेर गोविन्द गौतमको हत्या भएको घटनाको विरोधमा आज कैलालीको त्रिनगर सीमा नाकामा प्रदर्शन गरिएको छ ।

घटनाको विरोधमा नेकपा (माओवादी केन्द्र)ले आज गरेको सात नम्बर (सुदूरपश्चिमाञ्चल)प्रदेश बन्दका क्रममा त्रिनगर सीमा नाकामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा नाराबाजी गर्दै सीमा पारी जान खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार गरी भीड तितरबितर पारेको छ । त्रिनगरमा बिहानैदेखि भइरहेको प्रदर्शनका कारण नेपाल–भारतको प्रमुख सीमा नाका गौरीफाँटामा आवागमन बन्द भएको छ ।

बन्दको आह्वानसँगै सुदूरपश्चिम क्षेत्रमा आज यातायात, व्यापार व्यवसाय, शैक्षिक संस्था ठप्प रहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सीमामा देखिएको समस्या समाधानका लागि भारतीय समकक्षीसँग वार्ता गर्ने प्रयास भइरहेको बताउनुभयो ।

भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको कञ्चनपुर पुनरवास नगरपालिकाका गोविन्द गौतमलाई सहिद घोषणा गर्नुपर्नेलगायतका मागसहित बन्दको आह्वानकर्ता नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश कमिटीले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्