यी हुन् निशुल्क भिषा र टिकट लागू हुने ७ देश


 


काठमाडौं, असार १०
मलेसिया र ६ खाडी मुलुकमा काम गर्न जाने कामदारहरुका लागि अन्ततः निशूल्क भिषा र टिकटको व्यवस्था लागू हुने भएको छ। विभिन्न मेनपावर कम्पनीहरुको विरोधका बाबजुत सरकारले आगामी असार २१ गतेदेखि निशुल्क भिषा र टिकटको व्यवस्था लागू गर्ने गरी सूचना प्रकाशन गरेको छ।
बहराइन, कतार, साउदी अरब, दुबई, ओमान, कुवेत र मलेसियाका लागि यो व्यवस्था लागू हुन लागेको हो। यी देशहरुमा जाने कामदारहरुको तलवबाट कुनै खर्च नकटाउने शर्तमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने व्यवस्था मिलाउन लागेको हो।
श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काका अनुसार यसअघिको मन्त्रीस्तरीय निर्णयअनुसार यो व्यवस्था लागू हुनेगरी सूचना प्रकाशन गरिएको हो।
 कामदार रोजगारका लागि छनोट भएपछि उसको जीवन वीमा, अभिमुखिकरण तालिम र स्वास्थ्य परीक्षण गराउने कायर्मा इजाजतपत्र संस्थाले नै सम्वन्धित संस्थाहरुमा उपस्थित गराउनुपर्ने व्यस्था छ।
 यसमा इजाजत पत्रप्राप्त संस्थाले सेवा शुल्क तथा प्रवद्र्धन खर्चवापत १० हजार रुपैयाँसम्म शूल्क भने लिन पाउने छन् र यसको रसिद भने अनिवार्य हुनेछ।  यो व्यवस्थासँगै मलेसिया तथा अन्य खाडी मुलुक जाने कामदारको अधिकतम लागत ७० देखि ८० हजार रुपैयाँ तोकिएको व्यवस्था खारेज भएको छ।

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्