गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह भन्दा माथि



काठमाडौं, असार २५ । काठमाडौंमा वाग्मती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाका अनुसार मङ्गलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानीले सतर्कता तह पार गरेको हो ।

नदीले सतर्कता तह पार गरेकाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरुको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले जानकारी दिए । यसैगरी रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको उनले बताए ।

राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागको आग्रह छ ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्