क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो
काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ ।
आइतबार अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–० ले हराउँदै उपाधि जितेको हो ।
चेल्सीका लागि कोल पाल्मरले दुई तथा जोआओ पेड्रोले एक गोल गरे । पाल्मरले २२औं र ३०औं मिनेटमा गोल गर्दै चेल्सीलाई बलियो अग्रता दिलाए । ४३औं मिनेटमा पेड्रोले पाल्मरको पासमा चिप गोल गर्दै अन्तर ३–० बनाए ।
पिएसजीले केही अवसर सिर्जना गरे पनि गोलरक्षक रोबर्ट सान्चेजले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन् ।
८५औं मिनेटमा जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि पिएसजी १० खेलाडीमा सीमित भयो । रेफ्रीले भीएआर सहायता लिँदै नेभेसलाई रातो कार्ड देखाए । कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार
















