राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस आगामी शनिबार हुने



काठमाडौँ, ३० असार । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ आगामी शनिबार हुने भएको छ ।

जहाँ २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको । गत वर्ष अन्तरराष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) स्थापनाको शतवार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १०० खेलाडी सहभागी थिए ।

उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत गिनिज वल्र्ड रेकड्र्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ सञ्चालन गर्न लागिएको हो ।

हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूका अनुसार एकदिने प्रतियोगितामा खुलासहित १७ स्पर्धामा रु ६७ हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

उहाँले भन्नुभयो, “पहिलो संस्करणमा १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि २०० खेलाडी खेल्दैछन् । यो सङ्ख्याले नेपालमा सबभन्दा बढी खेलाडी सहभागी हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।”

नेपाल बिलियर्ड, स्नुकर तथा पुल सङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका राजेन्द्र केसी भोटेबहाल युवा क्लबका पूर्वअध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँको ४४ वर्षको उमेरमा २०७७ साल जेठ २५ गते देहान्त भएको थियो ।

उहाँकी धर्मपत्नी बन्दना खड्काले भन्नुभयो, “उहाँ बालबालिकालाई एकदमै माया गर्नुहुन्थ्यो । त्यसैले उहाँको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताले बालबालिकालाई अनुशासित बन्नेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरेकी छु ।”

त्रिपुरेश्वरस्थित बोगनभिल्लामा हुने खुलातर्फका विजेताले रु १० हजार, उपविजेताले रु सात हजार र तेस्रो हुनेले रु पाँच हजार पाउने छन् । खुलातर्फ उत्कृष्ट १०, यु १५ मा शीर्ष सातसहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा खुला, यु १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यु १३, यु ११, यु ९, यु ७ र बेस्ट एचसिए स्पर्धा समावेश गरिएको छ ।

उमेर समूह र बेस्ट एचसीएमा गल्र्स र ब्वाइजका दुवै स्पर्धामा राखिएको छ । गत २०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको यो आठौँ प्रतियोगिता हो ।

चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी पाँच वटा कोर्समा १०० बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्