पत्रकार ढुंगानालाई अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार


 


काठमाडाैं, चैत्र ६

दश वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय पत्रकार कृष्ण ढुंगानालाई वेलायतमा स्थापना गरिएकाे सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

अनलाइन मिडियामा कलम चलाउने सञ्चारकर्मी मध्येबाट दुई—दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पाँच सय अमेरिकी डलर राशिको रहेको छ ।

सीतादेवी ढकाल प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी अनलाइन मिडियामा सक्रिय पत्रकारको व्यक्तिगत विवरण माग गरेको थियो। पुरस्कार छनौट निर्णायक समितिले आवेदकमध्येबाट सन् २०१७ का लागि पत्रकार ढुंगानाको नाम छनौट गरेको हो।

नेपाली भाषाको पहिलो व्यवसायिक अनलाइन परेवा डट कमका संस्थापक मध्येका एक पत्रकार ढुंगानासँग राजधानी, नयाँ पत्रिका दैनिक, नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ। नेपाली भाषाको पहिलो ब्लग माइसंसारमा समेत एक बेला नियमित कलम चलाउने उनले माइसंसार फाउन्डेसनमार्फत् ग्रामीण भेगमा सरकारी विद्यालयमा पुस्तकालय तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

नेपाल रिपब्लिक मिडियाको स्थापनाकालदेखि नै नागरिक न्युज डटकमसँग आवद्ध उनी नेपालका पहिलो पुस्ताका थाेरै अनलाइन पत्रकारमध्ये पर्छन् । हाल उनी नागरिकन्युज डटकममा समाचार स‌ंयाेजक छन्।

गैरआवासीय नेपाली संघका संस्थापक सचिव तथा समाजसेवी चिरञ्जीवी ढकालले आफ्नी स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा स्थापना गरेको सो पुरस्कार पाउने ढुंगाना दोस्रो पत्रकार हुन्। यसअघि पहिलो पोष्टका सम्पादक उमेश श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कार सन् २०१७ भित्र काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने संस्थापक ढकालले बताए। लोकप्रिय बन्दै गएको अनलाइन पत्रकारितामा सक्रिय सञ्चारकर्मीलाई पुरस्कारले हौसला प्रदान गरोस् भन्ने उद्देश्यले आफूलो सानो पहल गरेको उनले बताए।

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्