संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने छन् भने सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । राष्ट्रियसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्