बाँकेमा कैदी भगाउने क्रममा झडप हुँदा पाँच जनाको मृत्यु
बुटवल, भदौ २५ । बाँकेको बाल सुधार गृहमा रहेका कैदी फरार हुने क्रममा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा मंगलबार राति भएको झडपमा बाँकेका समीर थापा, अछामका उमेश विष्ट, दैलेखका भूपेन्द्र खत्री, कैलालीका जगत देउवा र दाङका दिनेश घर्ती मगरको मृत्यु भएको हो ।
घाइतेको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा भइरहेको छ । बाल सुधार गृहबाट भागेका बाल बन्दीहरूले नजिकै रहेका कैदीहरूलाई भगाउने क्रममा प्रहरीका हतियार खोस्ने प्रयास गरेका थिए । हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरूको ज्यान गएको हो ।
प्रहरी श्रोतका अनुसार नौ बस्तामा रहेको कारागार र बालसुधा रगृहका ६ सय भन्दा बढी कैदी बन्दी र बाल बन्दीहरू भागेका छन्। अहिले नौ बस्ताको कारागार खाली भएको प्रहरीले जनाएको छ।
यता जेनजी आन्दोलनको मौका पारी कपिलवस्तु कारागारका कैदी बन्दीहरू कारागारबाट फरार भएका छन् । ४ सय ७० जना कैदी बन्दी रहेको कारागारबाट दुई वटा ब्लकमा रहेका ४३५ बढी कैदी फरार भएका छन् ।
कारागारबाट फरार भएका कैदी बन्दीहरूले नजिकै रहेको कपिलवस्तु अदालतमा पनि तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट कारागारका उपकरण, कागजातहरू जलेका छन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार कारागारबाट भागेका कैदी बन्दीहरू नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार












