कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलायो, दुई जनाको मृत्यु
काठमाडौँ, भदौ २६ । रामेछाप कारागार तोडेर कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।
आज (बिहीबार) बिहान कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउनुपरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । उनका अनुसार कैदीबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेका थिए ।
मृतकको परिचय खुलिसकेको छैन । साथै गोली लागेर १२ जना कैदीबन्दी घाइते भएको उनले जानकारी दिए ।
अहिले कारागार सुरक्षाकर्मीले नियन्त्रणमा लिइकेको उनले बताए । कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।
प्रकाशित मिति: २६ भदौ २०८२, बिहिबार












