कर्फ्यू र निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै
काठमाडौं, भदौ २८ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनसँगै हटेको राजनीतिक अन्योलपछि जनजीवन सामान्य बन्दै गएको छ ।
नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा लगाएको कर्फ्यू र निषेधाज्ञा थप नगरेपछि जनजीवन सामान्य बन्दै गएको हो ।
सेनाले कर्फ्यू र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरूले भने आवश्यकताअनुसार निर्णय गर्न थालेका छन् । कर्फ्यू र निषेधाज्ञा नथपिएसँगै आज बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ ।
हिजोअस्ति अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खुल्ला गर्ने गरिएको थियो । त्यस्तै, बिहान ११ देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ देखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू लाग्दै आएको थियो ।
जेनजी आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षाको कारण देखाउँदै सेनाले ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू आदेशसम्बन्धी सूचना जारी गर्ने गरेको थियो ।
प्रकाशित मिति: २८ भदौ २०८२, शनिबार












