समन्वय नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सुदनकै नेतृत्वमा नाराबाजी
काठमाडौं, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग समन्वय नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै आइतबार साँझ बालुवाटार अगाडि जेनजी समूहले नाराबाजी गरेका छन् ।
जेनजीका अगुवा सुदन गुरूङको समूहले नै नवनियुक्त प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरेको हो ।
गुरुङ तिनै व्यक्ति हुन् जसले शुक्रबार राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री कार्कीको खुट्टा ढोगेका थिए ।
‘हामीले जुन ठाउँमा राखेका छौं, त्यहीँबाट थुतेर निकाल्छौं । ओमप्रकाश अर्याल, लयर.. उनले आफै गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर !,’ गुरूङले भनेका छन् । उनले आफूहरु फेरि सडकमा आए कसैले रोक्न नसक्ने चेनावनीसमेत दिएका छन् ।
प्रधानमन्त्री कार्कीले आइतबार मात्रै तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । अधिवक्ता ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री, अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागिसकेको छ । आज उनीहरुको सपथ छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि जेनजी समूहको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका गिए ।
प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार












