असोज १ गते शोक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौँ, भदौ ३१ । सरकारले बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति शोक मनाउने निर्णय गरेको हो । दिवसको अवसरमा उक्त दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।
सरकारले सहिद भएकाका परिवारलाई क्षतिपूर्ति तथा राहतस्वरूप १५ लाख रुपैयाँ दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रिपरिषद् बैठकले थप पाँच लाख रुपैयाँ दिने निर्णय हो ।
प्रकाशित मिति: ३१ भदौ २०८२, मंगलबार












