यसरी बन्छ नवनेपाल


 


Swarnim-Wagle

स्वर्णिम वाग्ले

नेपालमा आएको भुइँचालोपछि विदेशी सहयोगको अपेक्षा राख्दा होस् वा अन्तर्राष्ट्रिय सम्मेलन गर्दा, सकारात्मकभन्दा आलोचना बढी भएको छ। पुनर्निर्माणमा इन्डोनेसियाले पछ्याएको बाटोभन्दा देश हाइटीजस्तो बन्छ भन्ने चिन्ताले बौद्धिक वर्गमा समेत बहस चलेको छ। यहीँनिर सरकारले पुष्टि गर्नुपर्छ कि हाइटी होइन, मुलुक इन्डोनेसियाको मार्गमा लम्किँदैछ।
यद्यपि, सरकारलाई काम गर्न सजिलो छैन। जोखिमको धारमा उभिएर हजारौंको आलोचना सुन्दै मुलुकलाई नवनिर्माणको जगमा उभ्याउनु साँच्चै गाह्रो छ। तर, सरकारले अन्तर्राष्ट्रिय सम्मेलन गर्दा जुन उत्साह, साहस र जाँगर देखायो। अन्तर्राष्ट्रिय समुदायले हेरे, बुझे र पत्याए। अब प्राप्त सहयोग परिचालन र योजना कार्यान्वयनमा त्योभन्दा हजार गुणा इच्छाशक्ति र जवाफदेहिता चाहिन्छ।
राज्य र सर्वसाधारणप्रति उत्तरदायी बन्नुपर्छ। तब मात्र जुटाएको सहयोगको महत्व र परिणाम देखिन्छ। मुलुक हाइटी होइन, इन्डोनेसिया वा भुइँचालोपछि चामत्कारिक परिवर्तन गरेको गुजरात बन्न सक्छ। यसले रोजगारीका लागि बिदेसिएका हजारौं जनशक्तिसमेत रोक्न सक्ने सामर्थ्य राख्छ।
राष्ट्रिय योजना आयोगले छोटो समयमै अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्न सक्ने पिडिएनए तयार पार्‍यो। यही दस्तावेजले अपेक्षाभन्दा बढी सहयोग जुटाउन सहयोग पुर्यातयो। कार्यान्वयनलाई यही गतिमा अगाडि बढाउनुको विकल्प नरहेको आयोग सदस्य स्वर्णिम वाग्ले बताउँछन्।
‘मौजुदा संयन्त्रबाट रकम खर्च गरेर पुनर्निर्माण सम्भव नदेखेर नै छुट्टै अधिकारसम्पन्न प्राधिकरण गठन गरिएको हो,’ उनी भन्छन्, ‘प्राधिकरणमा सिइओ चाँडो नियुक्त हुनुपर्छ।’ निर्माणलाई तीव्रता दिने धेरै अधिकार सिइओमै सुरक्षित भएकाले पनि समयमै नियुक्ति हुनुपर्ने उनको भनाइ छ।
काम गर्ने चुस्त नीतिगत संयन्त्र, प्राधिकरणको नेतृत्व र नेतृत्व गर्ने व्यक्तिमा धेरै कुरा भर पर्छ। यी पक्षमा सरकार संवेदनशील भयो भने तोकिएको अवधिमै पुनर्निर्माण सकेर दीर्घकालीन विकास निर्माणलाई निरन्तरता दिन सकिने वाग्ले बताउँछन्। विकास निर्माणमा विगतदेखि खड्किँदै आएको पक्ष आखिर काम गर्ने संयन्त्र र व्यक्ति वा नेतृत्वको इच्छाशक्ति नै त हो।

नागरिक दैनिकबाट

प्रकाशित मिति: १३ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्