जेनजी आन्दोलनको कारण के ?, ज्योति मगरको यस्तो छ ११ बुँदे विश्लेषण
काठमाडौँ । गायिका ज्योति मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत युवाहरूको पछिल्लो ‘जेनजी आन्दोलन’ का विभिन्न कारणहरू विश्लेषण गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन्।
उनले ‘जेनजी आन्दोलन’ किन भयो भन्दै ११ बुँदामा कारणहरूको सूची बनाएकी छन्, जसमा देशको चिन्ता गर्ने इमानदार युवाहरूको पक्षलाई अपवादमा राखेकी छन्। उनले आफ्नो पोस्टमा युवाहरूका विभिन्न स्वार्थलाई जोडेर आन्दोलनको उद्देश्यमाथि प्रश्न उठाएकी छन्।
कारण के ?
टिकटकर जेनजी: मोबाइलमा उपद्रव गरेर पैसा कमाउन।
कलाकार जेनजी: युट्युबबाट डलर कमाउन।
रास्वपाका जेनजी: रवि लामिछानेलाई जेलबाट निकाल्न।
बालेनका जेनजी: प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरी बालेनलाई प्रधानमन्त्री बनाउन, चीलमा बस्न र ‘स्वागवाला’ एटिट्युड देखाउन।
माओवादीका जेनजी: केपी ओलीलाई हटाएर प्रचण्डलाई देशको बागडोर दिन।
कांग्रेसका जेनजी: देउवा हटाएर गगन थापालाई सभापति बनाउन।
बार्बारा फाउन्डेसनका जेनजी: सन्दुक रुइतको देवत्वको आडमा देशमा भद्रगोल मच्चाई चीनको विरुद्धमा गएर तिब्बत आजाद गर्न तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अमेरिकालाई फेभर गर्न।
मधेस वारि पारिका जेनजी: (प्रचण्ड सरकारमा हुँदा नागरिकता पाएका) “जय नेपाल” भन्दा “जय हिन्द” भन्न सजिलो भएकाले।
हुने खाने वर्गका जेनजी: नेताका छोराछोरीको हातको रोलेक्स घडी तथा लक्जरी जीवनशैली आफूलाई पनि चाहिएकाले।
एनजिओ र आईएनजीओका जेनजी: देशमा अस्थिरता कायम गरी डलर आर्जन गर्न।
राजावादीका जेनजी: राजा फर्काई “आइस्यो गैस्यो”, “राजा साहेब, बाबू साहेब”, “हुकुम बक्स्यो, कृपा बक्स्यो” वाला संस्कार कायम राख्न र हिन्दु राज्य घोषणा गर्न।
तर, उनले अपवादको रूपमा केही युवाहरू पनि रहेको उल्लेख गरेकी छन्, जसलाई देशको चिन्ता थियो, बेथितिविरुद्ध आवाज बुलन्द गर्नु थियो र शान्तिपूर्ण आन्दोलन गरी सरकारलाई खबरदारी गर्नु थियो।
उनले दुःख व्यक्त गर्दै लेखेकी छन्, ‘दुर्भाग्य उनीहरू कै अगाडि निर्दोषहरू ढले, उनीहरू कै अगाडि देश जल्यो।’
डरै डरमा यो पोस्ट लेखेको बताउँदै उनले कमेन्ट नपढ्ने भन्दै गाली गर्नेहरूलाई जति गाली गरे पनि गर्नु भनेकी छन्।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार












