पश्चिममा वाङ्मय गोष्ठी


 


काठमाडौँ, चैत्र २६

नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक महोत्सवका सन्दर्भ पारेर बाँकेको नेपालगञ्जमा दुई दिने वाङ्मय गोष्ठीको आयोजना गरेको छ । ‘मध्य तथा सुदूर पश्चिमाञ्चल वाङ्मय गोष्ठी’को शुक्रबार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरे ।

उद्घाटनपछि गोष्ठीलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले प्रतिष्ठानले हीरक महोत्सवका अवसरमा राष्ट्रका विभिन्न क्षेत्रमा प्राज्ञिक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘मध्य तथा सुदूरपश्चिमको भाषा, संस्कृति र कला–साहित्यलाई जोडेर मूलधारको साहित्यमा जोड्न वाङ्मय गोष्ठी राखिएको हो ।’ उनले प्रतिष्ठान अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा लागेका र विश्वका ज्ञानविज्ञानलाई मुलुकमा भित्र्याउन र यहाँको ज्ञानविज्ञानलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउन प्रतिष्ठान प्रतिबद्ध भएर लागिरहेको प्रस्ट्याए ।

शनिबारसम्म दुई दिन चलेको गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले वि.सं. २०१४ सालमा स्थापित प्रतिष्ठान २०७३ मा आइपुग्दा हीरक वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको बताए ।

गिरीका अनुसार राजधानीबाहिर दुई क्षेत्रमा यस प्रकारको प्रमुख गोष्ठी गरिएको हो । यसअघि फागुनको १९ र २० गते पूर्वको विराटनगरमा पूर्वाञ्चलस्तरीय वाङ्मय गोष्ठी आयोजना गरिएको थियो । उनले यस कार्यक्रमले स्थानीय भाषा–संस्कृति र साहित्यको समायोजन गर्नेछ ।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिहर तिमिल्सिनको संयोजकत्वमा सम्पन्न गोष्ठीमा गोष्ठीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. उषा ठाकुर, डा. अमर गिरी र नर्मदेश्वरी सत्यालले मन्तव्य व्यक्त गरेका थिए ।

यसै गरी उच्च अदालतका मुख्य न्यायाधीश शेराज सिवाकोटी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइराला, मदन पुरस्कार विजेता आख्यानकार रामलाल जोशी, अग्रज साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकार सच्चिदानन्द चौवे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

गोष्ठीमा मध्यपश्चिमका कविताबारे प्राज्ञसभा सदस्य एवम् प्रा. जगत उपाध्यय ‘प्रेक्षित’, त्यहाँको साहित्यबारे वासुदेव पाण्डेले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि प्रा. केशव सुवेदीले टिप्पणी गरे ।

त्यसै गरी गोष्ठीमा थारु, अवधी र उर्दू भाषा साहित्यका साथै अनुवाद साहित्यबारे छलफल चलाइएको थियो । गोष्ठी लक्की चौधरी र विक्रममणि त्रिपाठीलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

मध्य तथा सुदूर पश्चिमी भेगका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको गोष्ठीमा कविता वाचनका गरिएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरूद्वारा परम्परागत लोकनृत्यहरू प्रस्तुत गरिएको थियो ।

वाङ्मय गोष्ठीमा सहभागी प्राज्ञ तथा साहित्यकारहरू नेपालगञ्ज फेस्टिबलको अवलोकन गर्नुका साथै शनिबार साँझ आयोजित ‘अल नेपाल मुशायरा’ कार्यक्रममा सहभागी भए । मुशायरामा नेपाल र भारतका दुई दर्जन बढी उर्दु तथा नेपालीभाषी शायरहरू सहभागी थिए ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्