स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशन


 


काठमाडौं, असार १४
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले स्थानीय निकाय निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई निर्देशन दिएको छ।
 सोमबारको बैठकका निर्णय सुनाउँदै समितिका सभापति रविन्द्र अधिकारीले स्थानीय निर्वाचन शीघ्र गर्ने गरी मिति तोक्न, नयाँ बजेटमा आवश्यक बजेटको व्यवस्था गर्न र निर्वाचन आयोग पदाधिकारीको रिक्त पद पूरा गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताए।

हाल निर्वाचन आयोगमा रहेका दुई आयुक्त मध्ये पनि कार्यबाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङ केही महिनामै सेवा निवृत्त हुने भएकोले निर्वाचन आयोग पदाधिकारीविहीन हुने देखिएको छ।समितिले निर्वाचनका लागि आवश्यक मतदाता नामावली तयार, परिचय पत्र वितरणलगायतका काम गरी तयारी अवस्थामा रहन निर्वाचन आयोगलाई निर्देशन दिने निर्णय गरेको पनि उनले बताए।

त्यस्तै समितिले निर्वाचनका लागि आवश्यक स्थानीय निकाय कार्यविधि ऐन र निर्वाचन सुधार ऐनको मस्यौदा तयार संसदमा पेश गरी पारित गराउन र आवश्यक गाविस सचिवहरुको व्यवस्था तत्काल गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरिएको सभापति अधिकारीले बताए।२०५९ साल असार मसान्तदेखि(१२ वर्षदेखि) स्थानीय निकाय जनप्रतिनिधिविहिन भएकोले स्थानीय निकायको निर्वाचन अति नै आवश्यक भएको सांसदहरुले बताएका थिए।

प्रकाशित मिति: १४ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्