सुनिल शर्मा भन्छन्- विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुन्छ, नेतृत्व होइन



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन नभई नीति मात्रै पारित हुने दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा डा। शेखर कोइराला पक्षधर नेताहरूको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशन नीतिगत विषयमा केन्द्रित रहने र सभापति चयन नियमित महाधिवेशनबाट हुने स्पष्ट पारेका हुन् ।

आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहे पनि संस्थापन पक्षसहित शीर्ष नेताहरू सहभागी छैनन् । उता डा.कोइराला पक्षधर नेताहरूले भने छुट्टै भेला गर्दै पार्टी विभाजन रोक्न पहल गर्न आग्रह गरेका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको साझा चाहना रहेको बताए । उनका अनुसार पार्टी विभाजन रोक्न दुवै पक्षका नेतासँग संवाद र पहल गर्ने प्रतिबद्धता डा.शेखर कोइरालाले जनाएका छन् ।

उनले भने- ‘पार्टी नफुटोस् भन्ने नै हाम्रो लाइन हो । पार्टी फुटको संघारमा पुगेकाले समाधान निकालेर विभाजन रोक्नुपर्छ । विशेष महाधिवेशनको एजेन्डा त सुरुदेखि नै हाम्रो हो ।’

शर्माका अनुसार विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुनेछ भने वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट डा।शेखर कोइराला नेपाली कांग्रेसको सभापति बन्ने दाबी गरे ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्