देउवा, गगन र विश्वबीचको छलफल निष्कर्षविहीन
काठमाडौँ, पुस ३० । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल निष्कर्षविहीन भएको छ ।
सभापतिसँगको छलफलबाट ठोस निर्णय नआएपछि महामन्त्रीद्वय थापा र शर्मा बैठक स्थलबाट बाहिरिएका छन् ।
पछिल्ला वार्ताहरूबाट कुनै ठोस सहमति ननिस्किएपछि सभापति देउवाले दुवै महामन्त्रीलाई छलफलका लागि निवासमै बोलाएका थिए ।
करिब ४५ मिनेट चलेको भेटमा महामन्त्रीद्वयले सभापति देउवाको पछिल्लो सक्रियतामाथि चासो व्यक्त गरेका थिए ।
सभापतिसँगको छलफलबाट ठोस निर्णय नआएपछि महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
बैठकमा सहभागी संस्थापन पक्षका एक नेताले देउवाको भनाइ उदृढ गर्दै भने, ‘नेतृत्वबारे वैशाखमा महाधिवेशन गर्ने भनेर केन्द्रीय कार्यसम्पादनले निर्णय गरिसकेको छ । मैले नेतृत्व छोड्ने सार्वजनिक रूपमै भनिसकेको छु । विधान अनुसार पनि उम्मेद्वार बन्न मिल्दैन । तीन महिनामा हुने के नै छ र ?’
उनका अनुसार देउवाको आग्रहपछि दुवै महामन्त्रीहरू साथीहरूसँग छ्लफल गर्नुपर्छ भनेर छलफलबाट निस्किएका थिए ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












